Butwal Today

छात्रावासमै विद्यार्थीले बच्चा जन्माएपछि ….. 

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक छात्राले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ ।

कक्षा ११ मा अध्ययनरत एक छात्रा कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माएकी हुन् ।

विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत थिइन् र टाढाबाट आएकी भएकाले विद्यालयले उपलब्ध गराएको छात्रावासमै बस्दै आएकी थिइन् । तर, विद्यार्थी गर्भवती भएको विषयमा विद्यालय प्रशासन, शिक्षक तथा होस्टेल व्यवस्थापनलाई पूर्व जानकारी नभएको भन्दै स्थानीयले गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।

घटनाको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उनलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर उपचारका लागि बुटवल पठाइएको थियो । स्रोतका अनुसार, सुत्केरी हुनु अघिसम्म पनि ती छात्रा नियमित कक्षामा सहभागी हुनुका साथै विद्यालयमा सञ्चालित परीक्षामा समेत सहभागी भएकी थिइन् ।

स्थानीय बासिन्दाहरूले भने यो घटनाले विद्यालयको निगरानी र जिम्मेवारीमाथि प्रश्न उठाएको बताएका छन् । “नौ महिनासम्म छात्राको अवस्था थाहा नपाउनु विद्यालयको गम्भीर कमजोरी हो,” एक स्थानीयले भने, “यस्तो लापरबाहीप्रति सम्बन्धित पक्षलाई जिम्मेवार बनाइनुपर्छ ।”

घटनापछि अभिभावक र स्थानीय तहमा विद्यालयप्रतिको विश्वास कमजोर भएको गुनासो समेत बढेको छ । छात्रावासमा बस्ने विद्यार्थीहरूको नियमित स्वास्थ्य अवस्था, परामर्श तथा निगरानी प्रणाली प्रभावकारी नभएको भन्दै सुधारको माग गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना भएको स्वीकार गर्दै यसबारे आफूहरूले बच्चा जन्मिएपछि मात्र जानकारी पाएको बताए । “ती छात्रा टाढाबाट आएकी भएकाले होस्टेलमा बस्दै आएकी थिइन् । सुत्केरी भएको कुरा हामीलाई पछि मात्रै थाहा भयो,” उनले भने, “तत्काल अभिभावकलाई खबर गरेर जिम्मा लगाइएको छ ।”

उनले घटनाबारे थप अनुसन्धान गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छात्रावास व्यवस्थापनलाई कडाइका साथ सञ्चालन गरिने पनि बताए ।

यो घटनाले विद्यालयमा छात्रावास व्यवस्थापन, विद्यार्थी निगरानी र परामर्श सेवाको प्रभावकारिताबारे गम्भीर चिन्ता उब्जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?