© 2026
लमही । दाङ—लमहीमा ‘मेयर कप’ खेलकुद प्रतियोगिता सुरु भएको छ ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले लमही नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटबल र ब्याडमिन्टनका खेलहरू एकैसाथ सञ्चालनमा आएका छन् ।
प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नु भएको हो । उद्घाटनसँगै सुरु भएको चौथो ब्याडमिन्टन प्रतियोगितामा २२ वटा समूहले भाग लिएका छन् । पाँचौँ टी २० क्रिकेट प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
सूर्योदय युवा क्लब लमही नगरपालिका ३ को आयोजनामा ब्याडमिन्टन प्रतियोगिता लमहीको रातो डाँडास्थित कभर्डहलमा, देउखुरी क्रिकेट युवा क्लबको आयोजनामा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता र न्यू डाँफे युवा क्लब लमही नगरपालिका ४ को आयोजनामा लमही नगरपालिका ६ को सिसौ बगैरमा यी प्रतियोगिता हुँदै छन् ।
आजदेखि सञ्चालन भइरहेको ब्याडमिन्टन प्रतियोगितामा २२ समूह, फुटबल प्रतियोगितामा १२ टोली र क्रिकेट प्रतियोगितामा ८ वटा क्लबहरूबिच प्रतिस्पर्धा भइरहेको छ ।
उद्घाटन गर्दै नगर प्रमुख चौधरीले युवापुस्ताको मागलाई ध्यानमा राख्दै ‘मेयर कप’लाई निरन्तरता दिइएको बताए । विगतमा केही कारणले रोकिएको प्रतियोगितालाई अबदेखि प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
क्रिकेट मैदानको सरसफाइ र मर्मत सम्भारमा राज्यले लगानी गरेको उल्लेख गर्दै उनले यस मैदानले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गरे ।
सीमित स्रोतसाधनका बाबजुद प्रतियोगिता आयोजना गरिएको भन्दै उनले आगामी दिनमा विभिन्न खेलका लागि आवश्यक बजेट नगर सभामार्फत विनियोजन गरिने जानकारी दिए ।
नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानिसलाई स्वस्थ, अनुशासित र सक्रिय बनाउने बताउँदै क्रिकेट मैदानको व्यवस्थापनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिन ।
साथै उनले फुटबल र ब्याडमिन्टनजस्ता खेलबाट पनि देशको समृद्धिमा योगदान पुग्न सक्ने धारणा राखिन ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, लमही नगरपालिका शिक्षा शाखा प्रमुख केशव लम्साल, नेपाल क्रिकेट सङ्घ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगर, दाङ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष किशोर घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।