© 2026
काठमाडौँ ।
नेपाली कांग्रेस भित्रको आन्तरिक शक्ति संघर्ष झनै तीव्र बन्दै गएको छ। पछिल्ला राजनीतिक घटनाक्रमसँगै पार्टीका दुई प्रमुख धार—शेरबहादुर देउवा समूह र गगन थापा नेतृत्वको समूहबीच ‘विज्ञप्ति युद्ध’ सुरु भएको देखिएको छ।
२०८२ भदौ २३ र २४ गतेका घटनालाई आधार बनाएर सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि कांग्रेसभित्र फरक–फरक धारणा सार्वजनिक भएका छन्। साथै गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनको विषयले विवाद अझै चर्काएको छ।
पार्टीका दुई जिम्मेवार निकायबाट अलग–अलग विज्ञप्ति जारी हुनु कांग्रेसभित्र गम्भीर दरार उत्पन्न भएको स्पष्ट संकेत हो। एकातर्फ, सभापति गगन थापा पक्षबाट प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्ति तुलनात्मक रूपमा सन्तुलित र संस्थागत देखिन्छ। उक्त विज्ञप्तिमा भदौ २३ को राज्य दमन र २४ को विध्वंस दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने अडान दोहोर्याइएको छ। साथै सरकारको कार्यान्वयन प्रक्रिया सेलेक्टिभ र प्रतिवेदन अपारदर्शी रहेको भन्दै कानुनी राज्य र विधिको शासन कायम गर्न आग्रह गरिएको छ।
सभापति गगन थापा पक्षबाट प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्ति
अर्कोतर्फ, शेरबहादुर देउवा निकट मानिने कार्यवाहक सभापति पूर्णबहादुर खड्का द्वारा जारी विज्ञप्ति भने बढी आक्रामक देखिन्छ। उक्त विज्ञप्तिमा केपी शर्मा ओली र रमेश लेखक को गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ र ‘अवैध हिरासत’ भन्दै कडा भर्त्सना गरिएको छ। साथै आयोगको प्रतिवेदनलाई नै पक्षपातपूर्ण र बदनियतपूर्ण भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाइएको छ। देउवा पक्षले आफ्ना नेतामाथि कानुनी जोखिम बढ्ने आशंकामा प्रतिवेदनलाई नै अस्वीकार गर्ने संकेत देखाउँदा, गगन थापा पक्ष भने कानुनी प्रक्रियामार्फत निष्पक्ष छानबिनको पक्षमा उभिएको देखिन्छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का द्वारा जारी विज्ञप्ति
यसअघि सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि शेरबहादुर देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ। उक्त विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। रोचक रूपमा, खड्काको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली सँग ‘समान पीडा’ को संकेत देखिन्छ, जुन गगन पक्षको विज्ञप्तिमा उल्लेख गरिएको छैन। यसले कांग्रेसभित्रको राजनीतिक ध्रुवीकरण थप प्रस्ट पारेको छ।
समग्रमा, कांग्रेसभित्रको यो ‘विज्ञप्ति युद्ध’ ले नेतृत्व तहमा गहिरो अविश्वास रहेको देखाउँछ। एउटा पक्ष कानुनी र संस्थागत बाटो रोज्न चाहन्छ भने अर्को पक्ष सडक आन्दोलन र राजनीतिक दबाबमार्फत आफ्ना नेताहरूको रक्षा गर्न केन्द्रित देखिन्छ। यसले आगामी दिनमा पार्टीभित्रको विभाजन अझै गहिरिने संकेत गरेको छ।