Butwal Today

खोटो बिक्रीबाट मनग्ये आम्दानी

१२ चैत्र २०८२, बिहीबार
अ+
अ-

रोल्पा  । रोल्पाका सामुदायिक वनहरूले खोटो बिक्रीबाट हरेक वर्ष मनग्ये आम्दानी गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्त सम्म जिल्लाका १३५ सामुदायिक वन उपभोक्ता समूहहरूले खोटो बिक्रीबाट २ करोड २३ लाख ८२ हजार १८५ रुपैयाँको कारोबार गरेका थिए ।

खोटो सङ्कलन तथा बिक्री मार्फत प्राप्त रकम मध्ये प्रदेश सरकारको सञ्चित कोषमा ४८ लाख ८६ हजार ९४० रुपैयाँ जम्मा भएको छ । यस्तै, सामुदायिक वन उपभोक्ता समूहहरूको कोषमा १ करोड ४६ लाख ६० हजार ८२० रुपैयाँ जम्मा भएको छ ।

सो कारोबार गरे बापत मूल्य अभिवृद्धि करको रूपमा यस अवधिमा २५ लाख ४१ हजार २०९ रुपैयाँ जम्मा भएको छ । यस्तै, अग्री आयकर बापत रु. २ लाख ९३ हजार २१६ जम्मा भएको छ ।

खोटो सङ्कलन बापत स्थानीय उपभोक्ताहरूमा रोजगारीको अवसर समेत सिर्जना भएको छ । यस अवधिमा १५ हजार ९५५ श्रम दिन रोजगारी सिर्जना भएको डिभिजन वन कार्यालय रोल्पाको भनाइ छ । सो अवधिको रोजगारीबाट स्थानीयहरूले १ करोड ३४ लाख ९९ हजार ४५२ रुपैयाँ ज्याला प्राप्त गरेका थिए । सुपरभाईजर, ज्यामी र लोडअनलोड गर्दा सो ज्याला प्राप्त हुने डिभिजन वन कार्यालय रोल्पाको भनाई छ ।

यस अवधिमा डिभिजन वन कार्यालय रोल्पाको कार्यक्षेत्रमा रहेका १३५ वटा सामुदायिक वन उपभोक्ता समूहहरूसँग सम्झौता गरी खोटो प्रशोधन गर्ने विभिन्न ६ वटा कम्पनीहरूले १६२८.९८ मेट्रिक टन खोटो सङ्कलन गरी निकासी गरेको डिभिजन वन कार्यालय रोल्पाको भनाइ छ ।

जडीबुटीबाट समेत प्रचुर सम्भावना

खोटोबाट मात्र हैन रोल्पाका सामुदायिक वनहरूले जडीबुटीबाट समेत मनग्ये आम्दानी गरिरहेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म जिल्लामा जडीबुटी सङ्कलन तथा बिक्री वितरणबाट स्थानीय कृषकहरूले ९ करोड ३५ लाख ९२ हजार आम्दानी गरेको डिभिजन वन कार्यालय रोल्पाको तथ्याङ्कमा उल्लेख छ ।

किसानहरूले आफ्नो जग्गामा लगाई हुर्काएका टिमुर, चुत्रो, गुजरगानो, पदमचाल, चिराइतो लगायतका जडीबुटी बिक्री वितरण बापत उक्त रकम भित्र्याएको डिभिजन वन अधिकृत यज्ञ मूर्ति खनालको भनाइ छ ।

यस्तै, जिल्लाको राष्ट्रिय वन क्षेत्रबाट टिमुर, कालिकाठको दाना, पाषणवेद, गुजरगानो, पदमचाल, चिराइतो लगायतका जडीबुटी सङ्कलन बापत प्रदेश सरकारको सञ्चित कोषमा २ लाख २३ हजार ७२५ रुपैयाँ जम्मा भएको थियो ।

चालु आर्थिक वर्षको फाल्गुन मसान्त सम्म जिल्लामा वनपैदवार बिक्री वितरणबाट मूल्य अभिवृद्धि कर र आय कर गरी नेपाल सरकारको कोषमा ३१ लाख १६ हजार ९४१ रुपैयाँ जम्मा भएको थियो ।

यस अवधिमा लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषमा ५१ लाख ६९ हजार ८९३ रुपैयाँ जम्मा हुँदा स्थानीय उपभोक्ताहरूले १ करोड ४६ लाख ६० हजार ८२० र किसानहरूले १० करोड ८९ लाख ६७ हजार रुपैयाँ बराबर आम्दानी गरेको डिभिजन वन कार्यालय रोल्पाको भनाइ छ ।

यसरी प्राप्त आम्दानी मध्ये सामुदायिक वन उपभोक्ता समूहहरूले कम्तीमा २५ प्रतिशत बजेट वन विकासमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ । “जीविकोपार्जन सुधार तथा गरिबी न्यूनीकरण, सामुदायिक विकास लगायतका शीर्षकमा सामुदायिक वनहरूले प्राप्त आम्दानीलाई खर्च गर्ने गर्दछन्”, सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ रोल्पाका अध्यक्ष मनसिंह डाँगीले भने ।

रोल्पा जिल्लामा अहिले ५८८ सामुदायिक वनले ५७ हजार हेक्टर भन्दा बढी वन क्षेत्र व्यवस्थापन गर्दै आइरहेका छन् । सो वन क्षेत्रमा ५४ हजार ५९९ घरधुरी आबद्ध छन् ।

जिल्लामा ५५ वटा कवुलियती वन उपभोक्ता समूहले १६७ हेक्टर वन क्षेत्र व्यवस्थापन गर्दै आएका छन् । कवुलियती वन समूहमा ६३० घरधुरी आबद्ध रहेको डिभिजन वन कार्यालय रोल्पाको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा दर्ता भएका नीजि वन ७ वटा र धार्मिक वन एउटा रहेको छ । प्रस्ताव गरिएको जलजला संरक्षण क्षेत्र भित्र करिब ४७ हेक्टर वन क्षेत्र रहेको छ । जलजला संरक्षण क्षेत्र जिल्लाका चार वटा स्थानीय तहमा फैलिएको छ ।

जसमा थवाङ गाउँपालिकाका ५ वटै वडा रहेका छन् भने रोल्पा नगरपालिकाको वडा नं. ८,९ र १० पर्दछन् । यस्तै, परिवर्तन गाउँपालिकाको वडा नं. १ र सुनछहरी गाउँपालिकाको वडा नं. ७ पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?