Butwal Today

प्रतिवेदन भन्छ-‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन्

११ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ — २३ भदौमा कर्फ्यु जारी हुनुअगावैदेखि चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच ‘भीडन्त’ सुरु भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङले त्यसलाई रोक्न पहल नगरेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।

जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले २४ फागुनमा ओली, लेखक र प्रहरी प्रमुख खापुङलाई फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनलाई अध्ययन गर्न भन्दै सरकारले समिति बनाएको थियो, तर यसलाई सार्वजनिक गरिएको थिएन ।

प्रतिवेदनमा ओली, लेखक र खापुङमाथि लापर्बाहीपूर्ण काम गरी ज्यान मार्न नहुने र हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसूरमा कारबाही गर्न सिफारिस गरिएको छ ।

मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापर्बाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

दफा १७७, १७८ र १७९ मा ज्यानसम्बन्धी कसूर छ, जुन अभियोग हत्यामा संलग्नहरूलाई लगाइने गरिन्छ । दफा १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?