Butwal Today

शान्तिपुरमा प्रथम चन्द्रकोट महोत्सव सुरु 

११ चैत्र २०८२, बुधबार
अ+
अ-

 गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘प्रथम चन्द्रकोट महोत्सव तथा चैते दसैँ मेला’ सुरु भएको छ ।

‘कृषि, पर्यटन, खेलकुद र संस्कृति : हाम्रा मूल आधार’ भन्ने नाराका साथ चन्द्रकोट क्षेत्र विकास समितिको आयोजनामा मंगलबारबाट महोत्सव सुरु गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि, पर्यटन महोत्सवले पालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसै गरी उनले पालिकाभित्र रहेका दिब्रुङ्ग दह, टिमुरे ताल, चक्रेश्वर मन्दिर, अर्जेवा झरना, दिब्रुङ्ग शिवालय मन्दिर लगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार हुने बताए।

महोत्सवकै अवसरमा विभिन्न प्रतियोगिताहरूको पनि आयोजना गरिएको छ । १४ गतेसम्म चल्ने महोत्सवमा वडा स्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता, महिला नृत्य प्रतियोगिता, शंखधुन, खुल्ला भेन्टास लगायतका प्रतियोगिताहरूको पनि आयोजना गरिएको चन्द्रकोट क्षेत्र विकास समितिका सचिव घनश्याम गौतमले जानकारी दिएका छन्।

महोत्सवमा रहेका स्टलहरूमा पिङ, विभिन्न स्थानीय खानाका परिकार राखिएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने सचिव गौतमले जानकारी दिए ।

स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि, स्थानीय उत्पादनको प्रचार, सामाजिक एकता र सद्भाव, मनोरञ्जन र सचेतनाका साथै चन्द्रकोटको दिगो विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन सत्रको अवसरमा विभिन्न झाँकी सहित र्‍याली समेत आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?