© 2026
लमही । लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) नियन्त्रणतर्फ केही सकारात्मक प्रगति देखिए पनि सङ्क्रमण दर अझै उच्च रहेको पाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला वर्षहरूमा टिबी सम्बन्धी सूचकहरूमा मिश्रित अवस्था देखिएको छ ।
आर्थिक वर्ष २०७६्७७ मा प्रति एक लाख जनसङ्ख्यामा ११२ रहेको केस सूचना करण दर क्रमशः बढ्दै २०७८्७९ मा १५८ पुगेको थियो ।
त्यसपछि केही उतारचढावका बिच २०८० र ८१ मा १६४ पुगेको यो दर २०८१ र ८२ मा घटेर १५१ मा झरेको छ । यसले एकातर्फ परीक्षण र केस पहिचानको दायरा विस्तार भएको देखाए पनि सङ्क्रमण अझै व्यापक रहेको सङ्केत गर्दछ ।
उपचार सफलता दर २०७६७७ मा ९१ प्रतिशत रहेकोमा २०८१८२ मा बढेर ९४ प्रतिशत पुगेको छ । यसले स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह र निगरानी प्रणालीमा सुधार आएको देखाउँछ । तर मृत्यु दर ३ देखि ४ प्रतिशतको हाराहारीमा स्थिर रहनुले समयमै पहिचान र उपचारमा अझै चुनौती रहेको देखिएको छ ।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी टिबी बिरामी रुपन्देहीमा भेटिएका छन्, जहाँ १ हजार १ सय १५ केस दर्ता भएका छन् । त्यसपछि दाङमा ७ सय ७४, बाँकेमा ५ सय ७९, कपिलवस्तुमा ५ सय ६२ र बर्दियामा ३ सय ८० केस रहेका छन् ।
पहाडी जिल्लाहरूमा सङ्ख्या कम देखिए पनि सेवा पहुँचको सीमितताका कारण वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।
प्रदेशभर कुल ४ हजार ५ सय ८ टिबी बिरामी दर्ता भएका छन् । स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस दर ८५ दशमलव ९५ प्रतिशत रहेको छ भने उपचार सफलता दर करिब ९० प्रतिशत पुगेको छ । टिबी र एचआईभी सह–सङ्क्रमणका ३२ केस र एआरटी सेवामा रहेका २० बिरामी फेला परेका छन्, जसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ ।
यस वर्ष “हामी क्षयरोग अन्त्य गर्न सक्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित विश्व क्षयरोग दिवस २०२६ मनाइएको छ । सोही अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राप्ती उपत्यका, देउखुरीमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले साझा प्रयासबिना क्षयरोग नियन्त्रण सम्भव नहुने बताउँदै समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरिएको थियो ।