© 2026
नवलपरासी । सडक निर्माणमा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने प्रावधान भए पनि ठेकेदारले सडक किनारकै माटो खन्ने कार्यको स्थानीयले विरोध गरेका छन् ।
दशक देखि ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नति गर्ने कार्य गर्दा सडकमा बाहिरबाट माटो ल्याई पुर्ने कार्य गर्नुपर्ने स्टिमेट भएपनि सम्बन्धित ठेकेदारले आफ्नो लागत घटाउन सडक किनारकै माटो खन्ने कार्यको स्थानीयले विरोध जनाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका प्रदेश सांसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नति गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागेको थियो । गत पुस महिनामा औपचारिक रूपमा स्तरोन्नति गर्ने कार्य शुभारम्भ भएको र त्यो बेला स्थानीयले सडक किनारको माटो खनेर पुर्नु भन्र्दा बाहिरबाट माटो ल्याई पुर्नुपर्ने कुरा उठाएका थिए ।
त्यो बेला ठेकेदारले स्टिमेटमै बाहिरबाट माटो ल्याउने कार्य हुने प्रतिबद्धता जनाएको थियो । सडक किनारमै गहिरो खाल्टो खनेर सडक पुर्ने र पछि सो खोल्टोमा पानी जम्दा गाउँ प्रदूषित हुने, खाण्डामा बालबालिका खसेर दुर्घटना हुने त्रास रहने कारण देखाउँदै खाल्टो नबनाउन स्थानीयले माग समेत गरेका थिए ।
प्राविधिकहरूले पनि बाहिरबाटै माटो ल्याएर पुर्ने कार्य हुन्छ, भनेर प्रतिबद्धता जनाए । काम शुभारम्भ भयो,एक स्थानीयले देखाउँदै भने,अहिले ठेकेदारले प्रतिबद्धता तोड्दै सडक किनारकै माटो खन्ने र पुर्ने गरेको छ ।
अझै गहुँ बाली नै नष्ट हुने गरि खाल्टो बनाउने कार्य गरेको आरोप समेत लगाएका छन् । उक्त सडक झण्डै ३ किलो मिटर लाम्बाईको छ । दुवै किनारबाट यदि १ मिटर चौडाइ र एक मिटर गहिराई खाल्टो खनेर माटो झिकियो भन्ने कुल ६ हजार घन मिटर माटोको प्रयोग ठेकेदारले सित्तैमा गर्ने छ ।
जसको लागत करिब ३६ लाख पर्न जान्छ । खाल्टो खनेर माटो पुर्ने पछि आफ्नो भुक्तानी लिएर हिँड्ने दाउ हुन सक्ने स्थानीयको आशङ्का छ । यसलाई रोक्नका लागि सम्बन्धित कार्यालयले पहल गर्नु पर्ने उनीहरूको माग रहेको थियो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार कार्यालय नवलपरासीले साढे ३ करोड बढीको लगानी गरि सडक स्तरोन्नति गर्न ठेक्का आह्वान गरेको थियो ।
ठेक्काका लागि परेका विभिन्न निर्माण कम्पनी मध्ये एम एस ग्रेण्ड पूर्वाधार नेपाल प्रालिले ठेक्का सकार गरेको छ । पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका समेतलाई जोड्ने उक्त सडकको निर्माण सम्झौता अनुसार बेलामै सम्पन्न गर्न र त्यसका लागि स्थानीय सरकार तथा स्थानीयवासीले आवश्यक सहयोग गर्नु पर्ने आग्रह समेत सांसद कलवारले गरेका थिए ।
कार्यालयले स्टिमेट गरे अनुसार नै काम गर्नु पर्ने र मापदण्ड र गुणस्तरमा कुनै बहाना बनाउन नहुने निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सुझाव समेत दिएका थिए । जिल्ला सदरमुकाम परासी देखि भारतीय विसुनपुरा सिमानाका जोड्ने सडक अन्तरगतको सो सडक एउटा भाग हो ।
रामग्रामको वडा नं.९ र पाल्हीनन्दन गाउँपालिकाको वार्ड नं.४ र ५ लाई जोड्दै सिमानाकासम्म पुग्छ । उक्त सडकले आधा दर्जन गाउँलाई जोड्ने हुँदा स्थानीयलाई यातायातमा पहुँच पुर्याउने गरि काम भइरहेको छ ।
सडकको बिच भाग देखि दायाँ बायाँ २५ फिट गरि कुल ५० फिटको सडक कायम गरि सडकको स्तरोन्नति कार्य हुने छ । सडकको बजेट भ्याट सहित कुल रु.३ करोड ६६ लाख ३२ हजार २ सय ८० रहेको छ ।
सडक स्तरोन्नति गर्नका लागि २०८२ असोज २९ गते नै सम्झौता भएको र उक्त सडक २०८३ जेठ २० गते भित्र सम्पन्न गर्नु पर्ने छ । सडकको स्तरोन्नति पश्चात् सडकले जोड्ने गाउँमा ढलनिकास,बजार व्यवस्थापन लगायतका कार्य गर्दै जाने लक्ष्य समेत सुनाइएको थियो ।
तर अहिले खाल्टो बनाउने कार्यले स्थानीय चकित परेका छन् ।