Butwal Today

किसानमा चैते धानको उत्साह

९ चैत्र २०८२, सोमबार
अ+
अ-

ब्र्दिया  । बर्दियाको राजापुर क्षेत्रका किसानहरू चैते धान लगाउन व्यस्त भएका छन् । हिउँदेभन्दा चैते धान राम्रो उत्पादन हुने बर्दियामा यति वेला किसान चैते धान लगाउन व्यस्त बनेका हुन् ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिएको सो क्षेत्रमा किसानहरू चैते धान लगाउन व्यस्त भएका हुन् ।

राजापुर र गेरुवाका किसान वर्षौँदेखि चैते धान खेती गर्दै आएका छन् । उनीहरू वर्षे धान लगाउन समेत मल अभाव भए पनि सो क्षेत्रमा चैते धान लगाउन सिँचाइ व्यवस्था भए पनि मलको अभाव कायमै रहेको किसानको बताउँछन् ।

राजापुर नगरपालिका वडा नम्बर ३ की अजय कुमार थारुले विगत बषौँदेखि चैते धान लगाउँदै आएको बताउँछन् । ‘करिब पाँच बिघा जग्गामा चैते धानलगाउँदै आएका छौँ,’ उनले भने, ‘‘तर, धान लगाउँदा मल नपाउने समस्या छ ।

राजापुरमा मल नपाएपछि मल लिनका लागि टीकापुर लगायत भारतमा समेत जानुपर्ने बाध्यता छ । हिउँदे धानभन्दा बढी चैते धान फल्छ । तर, समयमा मल नपाउने समस्या हामीले वर्षौँदेखि भोग्दै आएका छौँ ।’

त्यस्तै, गेरुवा गाउँपालिका वडा नम्बर ५ बिन्द्राकी मिनराज चौधरीले आफूले लगातार वर्षौँदेखि चैते धान लगाएको बताए । उनले भने, ‘यस वर्ष नहर बन्न लागेकाले पानी आएन ।

त्यही भएर पनि यस वर्ष बारीमा मकै खेती गरेकी छु । समयमा सिँचाइको व्यवस्थापन हुन सकेको भए धान नै लगाउने थिएँ ।’ गेरुवा गाउँपालिकाको अधिकांश भाग निकुञ्जसँग जोडिएको छ । उखुबारी वन्यजन्तुको वासस्थान बन्दै गएपछि धेरैसँग उखु नलगाउने सरसल्लाह भएको समेत चौधरीले जानकारी दिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख वीरेन्द्र पराजुलीले चालू आर्थिक वर्ष ०८२÷०८३ मा सात सय ५० हेक्टरमा चैते धान खेती हुने अनुमान गरिएको बताए ।

उनका अनुसार, ‘राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा हर्दिनाथ– १, चैते– ५, हर्दिनाथ हाइब्रिड– १ जातका चैते धान खेती हुँदै आएको छ ।’

एकीकृत कृषि तथा पशुपति विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले पछिल्लो समय चैते धान र धानलगाउने किसानको सङ्ख्यामा कमी आउँदै गरेको बताए ।

‘हिउँदे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ,’ उनले भने, ‘तर, उखु खेतीले गर्दा धानको खेतीगर्ने किसानको सङ्ख्यामा कमी आएको छ । चैते धानमा बढी किरा लाग्ने भएकाले धानमा विषादी पनि बढी प्रयोग हुन थालेको छ ।’

सरकारले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान सुपर जोन घोषणा गरेर लगानी गर्दै आएको छ । किसानलाई आवश्यक पर्ने धान, कृषि यन्त्र लगायत अनुदान समेत दिइएको छ । तर, किसान भने धान खेती गर्न छाडेर उखु खेतीतिर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?