© 2026
सल्यान । कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रतिभा पहिचानको लागी सल्यानमा अन्तरपालिका स्तरीय लोकदोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
जिल्लाको शारदा नगरपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको सहजीकरणमा यही चैत २७ देखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । श्रीनगरमा आयोजना हुने प्रतियोगिता २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
शुक्रबार नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न पालिकाबाट लोकदोहोरी कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका साथै कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यस संगै सहजकर्ता लोक दोहोरी गीत प्रतिष्ठानले प्रतियोगिताको तयारीलाई अगाडी बढाएको छ । यस प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र लोकदोहोरी क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।
शुक्रबार नगरपालिकामा बसेको बैठकमा नगरपालिकाका योजना अधिकृत केशब बुढाथोकी, लेखा अधिकृत श्याम सिंह, प्रतिष्ठानका अध्यक्ष मातृका डीसी, उपाध्यक्ष शुशिला बुढा, सचिव प्रकाश बिहानी तथा सल्लाहकारहरू सुरेन्द्र बुढा र लोकमान बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।