© 2026
तिलोत्तमा । ४६ वर्षीया कमला खड्काकोमा बिहानैदेखि ग्राहकहरू झुम्मिन आउँछन् । रुपन्देहीको तिलोत्तमा–१, शङ्करनगरस्थित मनकामना पथमा उनले घरको कोठा चिटिक्क पारेर सजाएकी छन् ।
त्यही सजाइएको कोठामा बसेर उनले बिहानदेखि साँझसम्म ग्राहकका अनुहार रङ र क्रिम भरेर उज्यालो पारिदिन्छिन् । उनले ग्राहकलाई सन्तुष्ट मात्रै बनाएकी छैनन्, आफ्नो आत्मविश्वासलाई पनि जगाएकी छन् ।
२० वर्षअघि उनले देखेको सपना आज बिपनामा परिणत हुँदा कमला उत्साहित छन् । आज ‘कमला ब्युटी पार्लर’ केवल एउटा व्यवसाय मात्र रहेको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको पाठशाला बनेको छ ।
दुई दशकअघि कमलाको परिचय एउटा साधारण गृहिणीमा सीमित थियो । घरधन्दा र परिवारको जिम्मेवारीभित्र खुम्चिएका ती दिनहरूमा उनलाई सधैँ एउटा प्रश्नले गिज्याइरहन्थ्यो– ‘के मेरो आफ्नै छुट्टै पहिचान बन्न सक्दैन ?’
त्यो समय आजको जस्तो उदार थिएन । महिलाले घरबाहिर निस्किएर व्यापार गर्नुलाई समाजले निकै सन्देहको नजरले हेर्थ्यो । तर, कमलाको अठोट पत्थरजस्तै बलियो थियो । उनले यस्तो क्षेत्र रोजिन् जहाँ महिलाकै बाहुल्य होस् र शारीरिक श्रमभन्दा पनि सीप र सिर्जनाको कदर होस् । अन्ततः उनले ‘ब्युटी पार्लर’ लाई आफ्नो गन्तव्य बनाइन् ।
“सुरुवातमा त पार्लर जानुलाई विलासिता मात्र मानिन्थ्यो,“ उनी विगत सम्झिन्छिन्, “तर मलाई विश्वास थियो, समय बदलिनेछ र महिलाहरूले आफ्नो सौन्दर्य र व्यक्तित्वको महत्त्व बुझ्नेछन् ।”
२५ हजारको लगानी र ५० वटा तालिम
कमलाको सफलताको सूत्र निरन्तर सिकाइ हो । करिब २५ हजार रुपैयाँको सानो पुँजीबाट २०६२ सालमा सुरु भएको उनको यात्राका क्रममा उनले थुप्रै तालिमका प्रमाणपत्र सँगेलेकी छन्, त्यति मात्र होइन यसप्रतिको अनुभवले उनलाई हौसला बढाएको छ । कमलाले डेढ वर्षको आधारभूत तालिमपछि आफूलाई रोकिन दिइनन् । सीप विकास कार्यालयदेखि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने करिब ५० भन्दा बढी तालिम र सेमिनारमा उनी सहभागी भइन् ।
“प्रविधि र शैली सधैँ परिवर्तन भइरहन्छन्,” उनी भन्छिन्, “मैले जति धेरै सिकेँ, त्यति नै मेरो काममा निखार आउँदै गयो र ग्राहकको विश्वास पनि बढ्दै गयो ।”
धेरै महिलाहरू परिवारको असहयोगका कारण आफ्नो सपना बिचमै त्याग्न बाध्य हुन्छन् । तर, कमलाको हकमा उनका श्रीमान् जितेन्द्र खड्का र छोरा रिजन प्रेरणाका स्रोत बने ।
“समाजले के भन्ला भन्दा पनि उसको इच्छा के छ भन्ने कुरा मेरा लागि मुख्य थियो,” जितेन्द्र भन्छन् । छोरा रिजनका लागि त आमा सङ्घर्ष र सफलताको सबैभन्दा ठुलो ‘रोल मोडल’ नै हुन् ।
आफ्नै घर नहुँदा भाडाका कोठामा झेलेका समस्यादेखि आज आफ्नै घरबाट व्यवसाय चिलाउनेसम्मको यात्रामा परिवारले उनलाई कहिल्यै एक्लो हुन दिएन ।
कमलाको पार्लरमा अचेल दैनिक १०० जनासम्म ग्राहक पुग्छन् । तीमध्ये धेरै त वर्षौँदेखिका पुराना ग्राहक हुन् । जमुना भण्डारी जस्ता ग्राहकहरूका लागि कमला केवल एक ‘ब्युटिसियन’ मात्र होइनन्, एउटी भरोसायोग्य दिदी पनि हुन् । “दिदीको काम गर्ने तरिका, सरसफाइ र बोल्ने शैलीले यहाँ पटक–पटक आउन मन लाग्छ,“ जमुना सुनाउँछिन् ।
उनले यही पेसाबाट मासिक ५० हजार रुपियाँ आम्दानी गर्दै आइरहेकी छन् । खाली समय खेर फालेर बसिरहेका महिलाका लागि पनि उनी प्रेरणाको स्रोत बनेकी छन् । यो पार्लरमा उनले हेयर स्टिरेट, हेयर वाक्सिङ्ग, फेसियल, क्लिजिङ्ग, मेनिक्योर, पेडिक्योर लगायतका विभिन्न सेवा दिंदै आएकी छन् । भविष्यमा पनि यही सेवालाई विस्तार गर्ने कमलाको योजना छ ।
कामको चाप बढ्दा उनी अस्थायी कर्मचारीको सहयोग लिन्छिन्, तर सेवाको गुणस्तरमा कहिल्यै सम्झौता गर्दिनन् । धेरै पैसा कमाउनु भन्दा पनि ग्राहकको सन्तुष्टि कमाउनुलाई नै उनी आफ्नो असली कमाइ मान्छिन् ।
आज कमलासँग सल्लाह लिन आउने नयाँ पुस्ताका महिलाहरूलाई उनी एउटै कुरा भन्छिन् “आत्मनिर्भर बन्नुस् ।” उनको विचारमा, जब महिला आर्थिक रूपमा सक्षम हुन्छन्, तब मात्र समाजमा सन्तुलन र सम्मान प्राप्त हुन्छ ।
“सपना देख्न नछोड्नुस्, उमेर वा परिस्थिति कहिल्यै बाधक हुँदैन”–उनी भन्छिन् । पैसाभन्दा ठुलो पुँजी आफ्नै हातको सीप रहेको भन्दै उनले सीपमा लगानी गर्न महिलाहरूलाई आग्रह गर्छिन् । सफलता रातारात नमिल्ने र यसका लागि धैर्यता राख्नुपर्ने भन्दै उनले यसका लागि वर्षौँको पसिना चाहिने बताउँछिन् ।