© 2026
काठमाडौँ।
नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिवकुमार श्रेष्ठले प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डङ्गोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा सङ्कलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डङ्गोलले कर्जा दुरुपयोग गर्ने र गराउने कार्यमा भूमिका खेलेको देखिएको हो ।ललितपुरका डङ्गोललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो । रासस