© 2026
गुल्मी । गुल्मीमा खयरका काठ चोरीका घटनाहरू बढ्दै जान थालेपछि प्रहरीले अनुसन्धान कार्य तीव्र पारेको छ ।
गुल्मीमा पछिल्ला महिनाहरूमा खयरका काठ चोरीका घटना बढ्दै गएपछि प्रहरीले अनुसन्धानको क्रममा सात जना व्यक्तिलाई सोधपुछ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निजी जग्गा तथा सामुदायिक वनबाट खयरका रुख कटान गरी घाटगद्धी गरेर राखिएको काठ चोरी भएको घटनामा इलाका प्रहरी कार्यालय रिडीले गुल्मी र स्याङ्जाका शङ्कास्पद व्यक्तिहरू माथि अनुसन्धान एवं निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गत पुस महिनामा सत्यवती गाउँपालिका २ स्थित कालिगण्डकी सामुदायिक वनमा कटान गरी घाटगद्दी गरेर राखिएको एक ट्याक्टर काठ चोरी भएको थियो । त्यस्तै गत फागुन १७ गते कालीगण्डकी गाउँपालिका २ राक्सेमा निजी जग्गाबाट उत्पादन गरिएको करिब एक ट्याक्टर काठ पनि चोरी भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी सत्यवती गाउँपालिका ४ र ५ मा स्थानीय व्यक्तिहरूका निजी जग्गामा रहेका खयरका रुखहरू रातारात कटान गरी चोरी गरेको बताइएको छ । पछिल्लो पटक फागुन २९ गते राति रुरुक्षेत्र गाउँपालिका ६ स्थित शाहघाटमा खयरका काठ चोरी भएको थियो ।
स्थानीय सागर पाण्डेले निजी जग्गाबाट कटान गरी घाटगद्धी गरेर राखेको करिब एक ट्याक्टर खयरको काठ चोरी भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।
बजारमा खयरको काठको मूल्य उच्च रहेको कारण पछिल्लो समय खयर चोरी गर्ने गिरोहहरू बढ्न थालेको स्थानीयको भनाइ छ । काठ चोरीका घटना बढ्दै भएपछि डिभिजन वन कार्यालय गुल्मीका प्रमुख दयाराम पौडेलको नेतृत्वमा घटना स्थलमा पुगेर सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा स्याङ्जाको मिर्मी, कोटाकोट र लसर्घा हुँदै गुल्मीको अर्बेनी क्षेत्रमा खोजी तीव्र बनाइएको थियो ।
इलाका प्रहरी कार्यालय रिडीसँग समन्वय गरी गरिएको खोजतलास र अनुसन्धानको क्रममा गुल्मी र स्याङ्जाका केही व्यक्तिहरूलाई निगरानी गर्न लगाईएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
चोरीका घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख दयाराम पौडेलका अनुसार गुल्मी जिल्लाबाट गत वर्ष करिब ६४ हजार क्यूफिट काठ जिल्ला बाहिर निकासी भएको थियो ।
उक्त निकासीबाट ९६ लाख ३९ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेष्टर कमल रेग्मीले जानकारी दिएका छन् ।
जिल्लाको कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट र गुल्मीदरबार क्षेत्रमा निजी आवादी तथा सामुदायिक वनमा खयर उत्पादन हुँदै आएको छ । खयरको काठ विशेष गरी कत्था, रङ तथा आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ ।
स्थानीय किसानले निजी जग्गामा उत्पादन भएको खयर काठ वन कार्यालयबाट अनुमति लिएर भ्याट तिरी बिक्री गर्दै आइरहेका छन् । किसानले खयर काठ प्रतिकेजी ७० देखि ९० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताइन्छ । उक्त काठ बिक्रीका लागि भैरहवा र नेपालगन्ज लैजाने गरिएको छ ।
डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय खयरका काठ चोरी निकासीमा सङ्गठित गिरोह सक्रिय रहेको आशङ्का गरिएको छ । चोरी नियन्त्रणका लागि निगरानी तथा अनुसन्धानलाई थप कडाइ गरिएको कार्यालयले जनाएको छ ।