© 2026
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले स्थानीय स्तरमा लोकल तथा रैथाने गाई पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई विभिन्न सामाग्री वितरण गरेको छ ।
कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा भित्रका लोकल गाई पाल्ने कृषकलाई दाना खुवाउने भाडा, भिटामिन, मिनरल तथा अन्य आवश्यक औषधि प्रदान गरिएको हो ।
वडा कार्यालयले केही समयअघि सूचना जारी गरी वडा भित्र लोकल गाई पाल्ने कृषकबाट निवेदन आह्वान गरेको थियो । प्राप्त निवेदन तथा प्राविधिक मूल्याङ्कनको आधारमा छनोट गरिएका कृषकलाई दाना पकाउने तथा खुवाउने डेक्ची, दूध दुहुने बाल्टी, भिटामिन, मिनरल, लिभर टोनिक ट्याब्लेट, जुका तथा माटेको औषधि लगायतका सामग्री वडा भित्रका २१ जना कृषकलाई वितरण गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले बताए ।
स्थानीय स्तरका रैथाने गाई संरक्षण र उत्पादन बढाउने उद्देश्यले कृषकलाई प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
सामाग्री पाएपछि कृषकहरू निकै उत्साहित देखिएका छन् ।
उनीहरूले यसले गाईको स्वास्थ्य सुधार गर्न र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् । कृषकहरूले स्थानीय सरकारबाट यस्ता सहयोग कार्यक्रमले गाउँमै कृषि तथा पशुपालनमा लाग्न थप हौसला मिलेको कृषक मणिराम पराजुलीले बताएका छन् ।
सन्धिखर्क नगरपालिकाको कृषि शाखाका प्रमुख नारायणप्रसाद खनालले कृषकलाई गाईलाई औषधि तथा भिटामिन खुवाउने सही समय र विधिका बारेमा जानकारी गराएका थिए ।
उनले पशु स्वास्थ्य राम्रो राख्न नियमित रूपमा मिनरल र भिटामिन प्रयोग गर्नुपर्ने तथा आवश्यक औषधि समयमै प्रयोग गर्नुपर्ने बताए । यसले गाईको रोग प्रतिरोधात्मक क्षमता बढाउने र दूध उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
स्थानीय कृषकलाई पशुपालनमा प्रोत्साहित गर्न वडाले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष वडा भित्र रहेका हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप नगद सहयोग प्रदान गरिएको वडा सदस्य बाबुराम पन्थीले बताए ।
यस वर्ष भने लोकल गाई पालनलाई लक्षित गरी मिनरल, भिटामिन तथा विभिन्न आवश्यक सामाग्री वितरण गरिएको वडा सचिव तुल्सा श्रेष्ठले बताइन् । कृषकलाई कार्यक्रम स्थलसम्म आउन सहज होस् भन्ने उद्देश्यले प्रति कृषक २ सय रुपैयाँ गाडी भाडा समेत प्रदान गरिएको बताइन् ।
स्थानीय स्तरका रैथाने गाईको संरक्षणसँगै उत्पादन बढाउने उद्देश्यले गरिएको यो कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ । पछिल्लो समय आधुनिक तथा विदेशी जातका गाईतर्फ आकर्षण बढ्दै जाँदा रैथाने गाईको सङ्ख्या घट्दै गएको अवस्थामा सन्धिखर्क–१ को यो पहललाई स्थानीय कृषकले सकारात्मक रूपमा लिएका छन्।
वडाले आगामी दिनमा पनि कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । स्थानीय उत्पादन बढाउने र कृषकको आयआर्जनमा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालन गरिएका कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।