© 2026
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीको मूल सुक्न थालेपछि खानेपानीको अभाव भएको हो ।
सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।
सिमकोट गाउँपालिका—४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताए । नाम्खा गाउँपालिका—१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बिचबिचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उनको भनाइ छ ।
पहिले पहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गरे।
किसानलाई ओखर र स्याउका बिरुवा वितरण
कृषि विकास कार्यालय हुम्लाले जुम्लाको फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा बिरुवा वितरण गरेको छ । प्रतिबिरुवा रु २७५ का दरले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिए । रासस