© 2026
भैरहवा ।
गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहँदै आएको सिद्धार्थनगर–८ स्थित साइ ग्लोबल सेकण्डरी स्कुल एण्ड कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डसँग सम्बन्धित आइएसओ चिन्ह प्राप्त गरेको छ। विद्यालयको व्यवस्थापन, शिक्षण प्रणाली र अनुशासनलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने दिशामा यो उपलब्धि महत्वपूर्ण मानिन्छ।
कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सुदिप शर्माले विद्यालयलाई आइएसओ चिन्ह हस्तान्तरण गरेका थिए। यो एउटा भैरहवाको शैक्षिक क्षेत्रको ठुलो उपलब्धि हो।
शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा उपप्रमुख अधिकारीले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयहरूलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने बताइन्। उनले विद्यार्थीलाई व्यवहारिक तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सक्ने संस्थाले समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साइ ग्लोबलले प्राप्त गरेको आइएसओ चिन्हले विद्यालयको शैक्षिक विश्वसनीयता अझ बलियो बनाएको बताइन्।
विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले आइएसओ चिन्ह प्राप्त गर्नु विद्यालय परिवारका लागि गौरवको विषय भएको बताए। उनले आगामी दिनमा सबै मापदण्ड पूरा गर्दै पूर्ण आइएसओ प्रमाणपत्र प्राप्त गर्ने लक्ष्यका साथ विद्यालयले शैक्षिक गुणस्तर थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक शर्माका अनुसार आइएसओ प्रमाणपत्र प्राप्त गर्न संस्थाले विभिन्न चरणका गुणस्तर मापदण्ड पूरा गर्नुपर्छ। प्रारम्भिक रूपमा करिब ३० प्रतिशत मापदण्ड पूरा भएपछि आइएसओ चिन्ह प्रदान गरिन्छ भने पूर्ण प्रमाणपत्रका लागि सबै मापदण्ड शतप्रतिशत पूरा गर्नुपर्ने व्यवस्था छ। चिन्ह प्राप्त गरेपछि तीन वर्षभित्र सबै मापदण्ड पूरा गर्नुपर्ने उनले बताए। साथै आइएसओ चिन्ह वा प्रमाणपत्र प्राप्त गरेपछि त्यसकै नाममा विद्यार्थीबाट कुनै अतिरिक्त शुल्क लिन नपाइने पनि उनले स्पष्ट पारे।
यसैबीच, कार्यक्रममा विद्यार्थीले सिकेका सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले विद्यालय परिसरमै बृहत् खाना महोत्सव पनि आयोजना गरिएको थियो। महोत्सवमा विद्यार्थीहरूले आफैं विभिन्न परिकार पकाएर स्टल राखी बिक्रीसमेत गरेका थिए। आफ्नै हातले बनाएको खाना बिक्री गर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित र रमाइरहेका देखिन्थे। यस्तो कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, उद्यमशीलता र व्यवहारिक सीप विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।