© 2026
बुटवल । जागरुक बचत तथा ऋण सहकारी लिमिटेड बुटवल–६ रुपन्देहीले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष हिमलाल भट्टराईका अनुसार, स्थानीय समुदायमा रक्तदानप्रतिको सचेचना जगाउन र मानव कल्याणतर्फ सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सहकारीका निवर्तमान अध्यक्ष एवं लेखा सुपरीवेक्षण समिति सदस्य लक्ष्मण प्रसाद बस्यालले गरेका थिए । उदघाटन समारोहमा बोल्दै बस्यालले रक्तदान जीवनदान भएकाले यस प्रकारका सामाजिक कार्यक्रमले सहकारी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सहकारीका सचिव कृष्णकुमार पोख्रेलले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय हितका कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रममा सहकारीका सञ्चालक, शेयर सदस्य र कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी शिक्षा समिति संयोजक थानेश्वर अर्यालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाको रहेको बताए । शिक्षा समिति सहसंयोजक भिम पौडेलका अनुसार खुल्ला रक्तदान कार्यक्रममा कुल ३५ युनिट रक्त संकलन भएको छ ।
उनले रक्तदान कार्यक्रममा सहभागितासँगै शनिबार मानव सेवा आश्रम, बुटवल–सुख्खानगरमा रहेका आश्रित व्यक्तिहरूका लागि भोजन वितरण कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसले सहकारीको सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्धलाई अझ बलियो बनाउने संस्थाले विश्वास लिएको अध्यक्ष हिमलाल भट्टराईले बताए ।
कार्यक्रममा उपस्थित सहकारीका सञ्चालक, शेयर सदस्य र कर्मचारीहरूले रक्तदान कार्यक्रममा सहभागी भएर सहयोग पु¥याएकोमा सबैलाई धन्यवाद दिएका थिए । अध्यक्ष भट्टराईले भने, “सहकारीले समुदायका लागि आर्थिक सेवा मात्र होइन, सामाजिक सेवा पनि निरन्तर प्रदान गर्दै आएको छ ।”
जागरुक बचत तथा ऋण सहकारीले भविष्यमा पनि यस प्रकारका सामाजिक सेवा र मानव कल्याण कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ ।