© 2026
गुल्मी। गुल्मीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतगणना परिणाम अनुसार जिल्लाका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३० हजार ७५७ मत प्राप्त गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ हजार १३०, नेपाली काँग्रेसले १२ हजार ७३१ र नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ३३ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. १ मा कूल मतदाता संख्या एक लाख २२ हजार १८६ रहेको थियो ।
तीमध्ये ६४ हजार ९२१ मत खसेको थियो । खसेको मतमध्ये ६३ हजार ५४६ सदर र एक हजार ३७५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले २१ हजार १९१ मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ हजार ७१५, नेपाली काँग्रेसले १२ हजार ५६० र नेपाल कम्युनिष्ट पार्टीले दुई हजार ७५२ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार क्षेत्र नं. २ मा कूल मतदाता संख्या एक लाख सात हजार ५९१ रहेकोमा ५४ हजार ७०४ मत खसेको थियो । खसेको मतमध्ये ५३ हजार एक सदर र एक हजार ७०३ मत बदर भएको छ ।
यसअघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल २९ हजार ६४२ मत प्राप्त गरी विजयी बनेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रदीप कुमार ज्ञवालीलाई १४ हजार ४६१ मतले पराजित गरेका थिए ।
त्यसैगरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी १६ हजार ९६७ मत प्राप्त गरी विजयी बनेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार गोकर्णराज बिष्टलाई ५६१ मतले पराजित गरेका थिए ।