© २०२३
सन्धिखर्क, २४ पुस ।
सिरियलवद्ध रुपमा तीन महिलाको हत्या गरेको आरोपमा अर्घाखाँची प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तीन महिलाको हत्या गर्ने भारतीय सिरियल किलरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी श्रंखलावद्ध रूपमा वृद्ध एकल महिलाहरूको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शितगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीय शिवा परियार सिंहलाइ अर्घाखाँची प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या गरी पक्राउ परेका सिंहमाथी अनुसन्धानको क्रममा अन्य हत्यापनि गरेको खुल्न आएको छ ।
उनले गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
श्रीमतीसँग मिलेर हत्या गरेको सुशान्तले बताएपछि श्रीमती शितगंगा नगरपालिका–१० सिद्धाराकी २२ वर्षीय शिवा परियार सिंहलाइ पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिंह दम्पत्तीलाई प्रहरीले पत्रकार सम्मेलन गरी आईतवार सार्वजानिक गरेको हो । उनीहरू दुवैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी नायव उपरीक्षक रिजालले बताएका छन् ।