Butwal Today

धनतन्त्रको चपेटामा लोकतन्त्र, राजनीतिक प्रणालीप्रति असन्तुष्टि

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
भैरहवा । प्रजातन्त्र दिवसको सन्दर्भ पारेर नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रूपन्देहीले आयोजना गरेको “लोकतन्त्र र भावी कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रममा वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गरिएको छ। वक्ताहरूले लोकतन्त्रको मूल मर्म नै कमजोर बन्दै गएको र त्यसको स्थानमा धनतन्त्र हाबी भएको ठोकुवा गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले वर्तमान राजनीतिक परिवेशप्रति तीव्र असन्तुष्टि जनाउँदै “धनतन्त्रले लोकतन्त्रलाई विस्थापित गरिसकेको” आरोप लगाए।
उनले राजनीतिक दलभित्रको टिकट वितरण प्रक्रिया नै व्यापारजस्तै बनेको टिप्पणी गर्दै भने, “पहिले सिनेमाको टिकट ब्ल्याकमा बेचिन्थ्यो, अहिले पार्टीको टिकट नै ब्ल्याकमा बिक्री भइरहेको छ। जससँग पैसा छ, उसैले टिकट पाउने अवस्था छ, र यो रोगबाट नयाँ भनिएका दलहरू पनि मुक्त छैनन्।”
त्रिपाठीले लोकतन्त्रलाई लोकतन्त्रवादीबाटै जोगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै आदर्शका कुरा गर्नेहरू नै व्यवहारमा टिकटको व्यापारमा संलग्न हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। “हामीलाई विवेकशील, जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने र जनताकै माझबाट उठेको नेतृत्व चाहिएको छ,” उनले भने, “जनताभन्दा टाढा बसेको व्यक्तिले न जनताको सेवा गर्न सक्छ, न देशको।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि दलहरूको घोषणा पत्र व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। एक सहभागीले फरक–फरक घोषणा पत्र सार्वजनिक गरिए पनि ती कागजमै सीमित हुने गरेको टिप्पणी गर्दै भने, “आफ्नो सन्तान विदेश पठाएर हामी यहाँ निसन्तानजस्तै भएर बसिरहेका छौं, यसको दोष कसलाई दिने?” उनले मतदाताको भोट बहुमूल्य भएकाले सोचविचार गरेर मतदान गर्नुपर्ने आवश्यकता औंल्याए।
संगठनका जिल्ला अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा हिरा चन्द, कुलप्रसाद नेउपाने, राप्ती चन्द्र उपाध्यायलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?