© 2026
अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१० मा अवस्थित डुङ्गे देउराली धार्मिक आस्था र स्थानीय परम्पराको अनौठो प्रतीकका रूपमा परिचित छ ।
यहाँ अन्य मन्दिर वा देवस्थलमा जस्तै पैसा, फूल वा प्रसाद चढाउने चलन छैन, बरु श्रद्धालुहरू सानो ढुङ्गा चढाएर मनोकामना व्यक्त गर्छन् । यही विशेषताका कारण डुङ्गे देउराली पछिल्ला वर्षहरूमा स्थानीयवासी मात्र होइन, बाहिरबाट आउने आगन्तुकहरूको समेत चासोको केन्द्र बन्दै गएको छ ।
सन्धिखर्कको चुत्राबेसी भक्तिटोलबाट करिब दुई किलोमिटरको दूरीमा चुत्राबेसी–धरमपानी–अर्घा सडक खण्डको बिच भागमा यो देउराली अवस्थित छ । सडक बिस्तार र यातायातको सुविधा बढे पनि देउरालीको मौलिकता भने यथावत् रहेको छ ।
पहिले–पहिले मानिसहरू पैदल यात्रा गर्दा यहाँ आइपुग्दा थकान मेट्ने, विश्राम गर्ने र ढुङ्गा चढाएर यात्रा सफल हुने कामना गर्ने गर्थे । उकालो–ओरालो बाटोमा यात्रा सुरक्षित रहोस् भन्ने विश्वासका साथ बाटो छेउबाटै एउटा सानो ढुङ्गा टिपेर देउरालीमा थुपार्ने परम्परा चलिआएको स्थानीय ज्येष्ठ नागरिक तुल्सीराम पौडेलले बताएका छन् ।
ढुङ्गा चढाउने चलनको पछाडि गहिरो सांस्कृतिक अर्थ रहेको मानिन्छ । पैसा नभएका गरिब यात्रुहरूका लागि पनि समान रूपमा पूजा–अर्चना गर्ने अवसर मिलोस् भन्ने भावनाले यस्तो प्रचलन सुरु भएको विश्वास गरिन्छ ।
यसले आस्थामा आर्थिक हैसियतले विभेद नगर्ने सन्देश पनि दिन्छ । श्रद्धा र विश्वास नै मुख्य कुरा हो भन्ने मान्यतालाई डुङ्गे देउरालीले व्यवहारमै उतारेको छ ।
स्थानीयवासीहरूका अनुसार देउराली क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास छ । लायन्स क्लब लगायतका सङ्घ संस्थाले यसको सामान्य संरचना निर्माण, र सरसफाइको व्यवस्थापनमा काम गर्दै आएको लायन्स क्लबका कृष्णप्रसाद भुसालले बताएका छन् ।