© २०२३
बुटवल, २१ पुस ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।
संस्थाले शेयर सदस्य रामप्रसाद सुवेदीको मृत्यु भएकोमा निजको परिवार देवी सुवेदीलाई कल्याणकारी कोष र बिमा बापत एकलाख रुपियाँ राहत स्वरुप मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले बिगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख रकम अनुदान दिंदै आएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताए ।
त्यस अवसरमा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुव कुमार धिताल, स्थानीय टोल विकास संस्थाका अध्यक्ष बाबुराम रेग्मीलगायतले बोल्दै रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा रक्तदान गरेकाहरुलाई सहकारीको लोगो अंकित टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाका गतिविधि र आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै हालसम्म संस्थाको कुल वासलात करिव ६८ करोड पुगेको जानकारी गराए ।
उनले हालसम्म बचत संकलन ५२ करोड १३ लाख २९ हजार रहेको, पाँचसय जना सदस्यलाई करिव ६१ करोड क्रृण लगानी गरिएको, आर्थिक वर्ष ०७८÷७९ को नाफाबाट १३.५ प्रतिशत बोनस प्रदान गरिएको बताए । संस्थाले अनलाईन प्रणालीमार्फत संस्थाको कारोबार सुरु गरिसकेको पनि उनले जानकारी दिए ।