Butwal Today

शितगंगा नगरपालिकामा करदाता सेवा शाखा उद्घाटन: स्थानीय तहबाटै कर सेवा प्रवाह सुरु

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

अर्घाखाँची । नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाले कर प्रशासनसम्बन्धी सेवा नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले करदाता सेवा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०७/१७ गतेको निर्णयअनुसार देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी ती कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा आएपछि नगरपालिकाले उक्त सेवा सुरु गरेको हो ।

“करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै गरेका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्य सञ्चालन कार्यविधि, २०८२” बमोजिम मिति २०८२/११/०५ गते नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहबिच शाखाको उद्घाटन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगर प्रमुख छविलाल पौडेलले अब करदाताहरूलाई कर चुक्ता प्रमाणपत्र लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै “वास्तविक अर्थमा सिंहदरबार घरघरमा पुगेको अनुभूति दिलाउने काम भएको छ ।” भन्ने धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेशमै पहिलो पटक स्थानीय तहबाट यस्तो सेवा सुरु हुनु गौरवको विषय भएको उल्लेख गर्दै नगर प्रमुख पौडेलले नगरपालिकामा हाल १,३८२ करदाता आबद्ध रहेको जानकारी दिए । करदाताको लागत केवल आर्थिक मात्र नभई समयसमेत भएकाले स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा समय र खर्च दुवैको बचत हुने उनको भनाइ थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालको पनि उपस्थिति रहेको थियो । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्णप्रसाद न्यौपानेले स्थानीय तहबाट कर सेवा प्रवाह सुरु हुनु कर प्रशासनलाई थप प्रभावकारी, पहुँचयोग्य र उत्तरदायी बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।

उनीहरूले प्राविधिक सहयोग विभागबाट निरन्तर उपलब्ध गराइने तथा सेवा प्रवाहलाई समर्पित ढङ्गले सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

वडा नं. ९ का वडा अध्यक्ष भीम केसीले अब कर चुक्ता प्रमाणपत्र लिन कृष्णनगर जानुपर्ने बाध्यता हटेको उल्लेख गर्दै यसले स्थानीय सरकार र सङ्घीय सरकारबिचको समन्वयलाई थप मजबुत बनाउने बताए ।

कार्यक्रममा सहभागी वक्ताहरूले यो कार्य जिम्मेवारी थोपर्ने मात्र नभई अपनत्वका साथ कार्यान्वयन गरिएको उदाहरण भएको धारणा व्यक्त गरे । भविष्यमा विभिन्न तहबाट अलग–अलग प्रमाणपत्र बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको समेत जानकारी गराइएको थियो ।

सेवा प्रवाहको नियमितता र दिगोपन सुनिश्चित गर्नु आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए । यसका लागि आवश्यक प्राविधिक तथा सम्भावित आर्थिक सहयोग सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढाइने जनाइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि, बैङ्क तथा वित्तीय संस्थाका प्रमुख, उद्योग वाणिज्य सङ्घ तथा यातायात व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अन्त्यमा नगर प्रमुख पौडेलले कर सेवा शाखाको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सहज, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?