Butwal Today

ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ ।

गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ ।

यसै गरी, २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको कार्यक्रमका ‘फोकल पर्सन’ अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले जानकारी दिइन्। यस्तै ८४ प्रश्नावलीका आधारमा सर्वेक्षण गरिँदै छ ।

यसबाट ८२ ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा छन् भने १९२ बिमा नगरिएका ज्येष्ठ नागरिक भेटिए ।

श्रेष्ठका अनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो  ‘जोन’मा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ ।

तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने थालिएको श्रेष्ठको भनाइ छ ।

तथ्याङ्कमा समेटिएका ३०२ महिला र १५० पुरुष गरी ४५२ ज्येष्ठ नागरिकमध्ये ४२३ जना परिवारसँगै रहेका फोकल पर्सन श्रेष्ठले जानकारी दिइन्। सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ ।

उनीहरूले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तनलगायतका विषय हेर्ने गरिएको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सत्तरी वर्षमाथिका स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य सङ्कलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?