Butwal Today

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ । 

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न आएका नागा बाबासहितका साधु सन्तलाई बिदाइ सुरु गरेको छ ।

बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो ।

नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिए ।

पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी रहेको पनि उनले बताए । महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधु सन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधु सन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए । महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधु सन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ ।

आज नागा बाबासहितका साधु सन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गरेका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?