Butwal Today

बुटवलको आर्थिक सम्भावनाबारे निजी क्षेत्रको चासो पौडेलसँग नीतिगत सुधारको माग

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

बुटवलका उद्योगी तथा व्यवसायीहरूले बुटवल शहरको आर्थिक सम्भावना, पूर्वाधार विकास र व्यापार प्रवर्द्धनसँग सम्बन्धित विषयमा व्यापक छलफल गर्दै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका छन्। व्यवसायीहरूले बुटवललाई प्रदेशकै प्रमुख आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। व्यवसायीहरूले विशेषगरी पुरानो बुटवल बजार क्षेत्रको मौलिक पहिचान जोगाउँदै त्यसलाई आधुनिक व्यापारिक केन्द्रको रूपमा पुनर्जीवन दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले परम्परागत बजार संरचनालाई संरक्षण गर्दै व्यवस्थित सडक, पार्किङ, प्रकाश व्यवस्थापन, पैदलमार्ग र व्यवस्थित व्यापारिक संरचना निर्माण गर्नुपर्ने सुझाव दिएका छन्। साथै, अमरपथ र हाटबजार लाइनजस्ता मुख्य व्यापारिक क्षेत्रलाई स्मार्ट बजार अवधारणा अनुसार विकास गर्नुपर्ने आवश्यकता भएको बताएका थिए ।।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बाट रुपन्देही निर्वाचन क्षेत्र नं। २ का उम्मेदवार समेत रहेका पौडेलसँग व्यवसायीहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने लगानीमैत्री नीति निर्माण गर्न विशेष आग्रह गरेका थिए। कार्यक्रममा सहभागी उद्योगीहरूले बुटवल र आसपासका क्षेत्रमा उद्योग, पर्यटन तथा सेवा क्षेत्र विस्तार गर्न सरकार र निजी क्षेत्रबीच समन्वय अझ सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे। बुटवलका दुई सय बढि उद्योगी तथा व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा नियमित सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेका थिए। विमानस्थल नियमित सञ्चालन भए पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय लगानी विस्तारमा टेवा पुग्ने उनीहरूको विश्वास रहेको थियो। साथै नेपाल–भारत खुला सीमाको व्यवस्थित व्यवस्थापन, भन्सार प्रक्रिया सहज बनाउने, सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने विषयमा समेत सुझाव दिएका थिए । बुटवल बजार क्षेत्रमा बढ्दो सवारी चापका कारण देखिएको पार्किङ समस्या समाधान गर्न बहुस्तरीय पार्किङ भवन, भूमिगत पार्किङ तथा ट्राफिक व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने व्यवसायीहरूको जोड थियो। साथै कर प्रणालीलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने विषयलाई समेत उनीहरूले महत्वपूर्ण मुद्दाका रूपमा उठाएका थिए।

उद्योगी तथा व्यवसायीहरू सगँको छलफलमा पौडेलले बुटवलसहित समग्र रुपन्देहीलाई राष्ट्रिय आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए। उनले निर्माण सम्पन्न तथा निर्माणाधीन पूर्वाधार आयोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरेर व्यापार, उद्योग र पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले बुटवलको पार्किङ समस्या समाधानका लागि आधुनिक पूर्वाधारसहितको भूमिगत पार्किङसहित बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना अघि बढाइएको बताए। साथै तिनाउ पुल क्षेत्रमा सिग्नेचर ब्रिज निर्माण गरी शहरको सौन्दर्य अभिवृद्धि र पर्यटन विकासमा सहयोग पुर्‍याउने योजना रहेको जानकारी दिए।

यसैगरी सैनामैना सीमास्थित करसाघाट क्षेत्र आसपास मुलुककै ठूलो कृषि उपज तथा थोक बजार केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए। यसबाट किसानका उत्पादनलाई बजार उपलब्ध गराउने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र निर्यात विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। पौडेलले मुलुकको समग्र आर्थिक विकासका लागि स्थिर तथा बलियो सरकार अपरिहार्य रहेको उल्लेख गर्दै नीतिगत सुधार, लगानीमैत्री वातावरण र पूर्वाधार विस्तारमार्फत आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुपर्ने बताए। आफू अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा विभिन्न सुधारका प्रयास गरिए पनि राजनीतिक अस्थिरताका कारण अपेक्षित परिणाम हासिल गर्न चुनौती भएको उनले स्वीकार गरे।

त्यस्तै समानुपातिकतर्फका एमाले उम्मेदवार तथा उद्योगी एजाज आलमले रुपन्देहीको आर्थिक तथा पूर्वाधार विकासलाई तीव्रता दिन पौडेलको नेतृत्व आवश्यक रहेको धारणा राख्दै निजी क्षेत्रलाई एकताबद्ध भएर विकास अभियानमा सहभागी हुन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?