Butwal Today

भैरहवामा ३ दिने निःशुल्क कृत्रिम हातखुट्टा शिविर सञ्चालन हुने

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

भैरहवा ।

दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएर जीवनयापनमा कठिनाइ भोगिरहेका व्यक्तिहरूका लागि भैरहवामा तीनदिने निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर सञ्चालन हुने भएको छ ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना तथा मारवाडी सेवा समिति, भैरहवाको सहकार्यमा फागुन ७, ८ र ९ गते शिविर आयोजना गर्न लागिएको हो ।

आयोजकले पत्रकार सम्मेलनमार्फत कृत्रिम अंग आवश्यक परेका व्यक्तिहरूलाई समयमै नाम दर्ता गर्न आग्रह गरेका छन् ।

शिविरको पहिलो दिन प्राविधिक टोलीले लाभग्राहीहरूको नापजाँच गर्नेछ । दोस्रो दिन संकलित नापका आधारमा कृत्रिम हातखुट्टा निर्माण गरिनेछ । तेस्रो दिन तयार गरिएका कृत्रिम अंग सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

संगठनका अध्यक्ष मनोजकुमार अग्रवालका अनुसार संस्था विगतदेखि नै देशका विभिन्न सहरमा यस्ता मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । पश्चिमको धनगढीदेखि पूर्वको बिर्तामोडसम्म संगठनका २६ शाखामार्फत सामाजिक गतिविधि सञ्चालन भइरहेको उनले जानकारी दिए ।

सेवा नै संस्थाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । यसअघि लाहान र बिर्तामोडमा सम्पन्न भइसकेको शिविर भैरहवामा तेस्रोपटक आयोजना गर्न लागिएको हो ।

हालसम्म देशभर तीन सयभन्दा बढी व्यक्तिलाई कृत्रिम हातखुट्टा सहयोग गरिसकिएको आयोजकले जनाएको छ । यसपटक भैरहवामा कम्तीमा ५० जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । आवश्यकताअनुसार संख्या बढाएर एक सय जनासम्मलाई सहयोग गर्न सकिने पनि बताइएको छ । हालसम्म २५ जनाले नाम दर्ता गरिसकेको जानकारी दिइएको छ ।

मारवाडी सेवा समिति, भैरहवाका सचिव हरिश सेठियाले कार्यक्रम सफल बनाउन स्थानीय दाता तथा सहयोगीहरू सक्रिय रहेको बताए । शिविर सञ्चालनमा मारवाडी युवा मञ्च भैरहवा र मारवाडी महिला मञ्च भैरहवाले समेत सहकार्य गरिरहेका छन् ।

शिविरका लागि यज्ञराज अग्रवाललाई राष्ट्रिय संयोजक र मनोज सिंघललाई स्थानीय संयोजकको जिम्मेवारी दिइएको छ । आयोजकले कृत्रिम हातखुट्टा आवश्यक परेकाहरूलाई ९८४७०२३६३०, ९८०६९५०१६९ र ९८५७०४९१७९ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?