© २०२३
भैरहवा, २० पुस ।
चिसो बढेपछि विपन्न परिवारलाई लक्षित गर्दै श्री सन्जय साई अग्रनाईजेशन काठमाडौं, नेपाल र सन्जय साई सेवा समूह भैरहवा, रुपन्देहीले बुधबार भैरहवामा निःशुल्क ब्लाङ्केट (कम्बल) वितरण गरेका छन् ।
सिद्धार्थनगर–२ का ५५ घरपरिवारलाई ब्लाङ्केट वितरण गरिएको श्री सन्जय साई सेवा समूह भैरहवा, रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाले बताए । उनले भने, ‘प्रत्येक वर्ष जाडो मौसममा ब्लाङकेट वितरण गर्दै आएका छौं, पुण्य काममा सहभागी हुन पाउँदा हर्षित छौं ।’
निःशुल्क ब्लाङ्केट वितरण कार्यक्रममा बोल्दै समाजसेवी नारायण प्रसाद अग्रवालले निश्वार्थ रुपमा कुनै आशा नराखी काम गरिए सफलता प्राप्त गर्न सकिने बताए । उनले जाडो मौसममा आयोजित कम्बल वितरण कार्यक्रमले सबैको मनमा सहयोग गर्ने प्रेरणा जगाउने बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले जाडोको बेला वडा नम्बर २ का विपन्न परिवारलाई कम्बल वितरण गर्नु सराहनीय कार्य भएको बताए । उनले विपन्न परिवारलाई राहत प्रदान भएको र कार्यक्रम सफल भएको बताए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले कठांग्रिदो जाडोमा ब्लाङ्केट वितरण गर्नु सराहनीय भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
आमा सामूदायिक सेवा समाजकी अध्यक्ष इन्दिरा क्षेत्रीले सन्जय साई अग्रनाईजेशन काठमाडौं, नेपाल र सन्जय साई सेवा समूह भैरहवाले राम्रो कार्य गरेको बताइन् । सोही अवसरमा सिद्धार्थ प्याथोलोजी बैंकरोड भैरहवाको सहयोगमा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो ।