Butwal Today

पृथ्वी चन्द्रले पाएन बिमाको ३ करोड 

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सुनवल  । 

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालले स्वास्थ्य बिमा बापतको रकम समयमा नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाको एक मात्र पचास शैया क्षमता भएको पृथ्वी चन्द्र अस्पतालको दैनिक सेवा सञ्चालनमा  बिमाको ठुलो रकम भुक्तानी बाँकी हुँदा समस्या भएको हो ।

गत आर्थिक वर्षको धेरै रकम भुक्तानी भए पनि चालु आर्थिक वर्षको ६ महिनामै बिमा बापतको भुक्तानी पाउनुपर्ने रकम २ करोड ५८ लाख पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले कुल २ करोड ६२ लाख ९४ हजार बिमा बापतको रकम स्वास्थ्य बिमा बोर्डसँग दाबी गरे पनि बोर्डबाट २ करोड १० लाख मात्र भुक्तानी भएको थियो ।

गत वर्षको समेत जोड्दा पुस मसान्त सम्ममा अस्पतालले बिमा बापतको २ करोड ८६ लाख १८ हजार पाउन बाँकी रहेको छ । दैनिक बिरामीबाट हुने आम्दानीको आधारमा दैनिक खर्च सञ्चालन गर्नुपर्ने अस्पताललाई सेवा प्रवाहमा समस्या भएको पृथ्वी चन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले बताए । “बिमाको रकम नियमित प्राप्त नहुँदा अस्पताल चलाउन निकै समस्या परेको छ, औषधी खरिद देखि कर्मचारी नियुक्ति तथा तलब खर्चमा अप्ठ्यारो परेको छ, चौधरीले भने ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश ढकालले नियमित बिमा बापतको रकम भुक्तानी नभए दैनिक कमाई गरेर खर्च सञ्चालन गर्नुपर्ने अस्पतालले सेवा दिन नसक्ने अवस्था आउने बताए

। स्वास्थ्य बिमा कार्यक्रम र सरकारी अस्पतालमा विशेषज्ञ सेवामा बढोत्तरी भएकै कारण बिरामीहरूको सङ्ख्या वृद्धि भएको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम नियमित गर्नुपर्ने प्रदेश सभा सदस्य खड्ग बस्नेतले बताए ।

सरकारले नीतिगत सुधार गरेर कार्यक्रमलाई नियमित गर्नुपर्नेमा बस्नेतको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?