© 2026
रुपन्देही । रुपन्देहीको पुरानो संस्थागत विद्यालयका रूपमा परिचित दीप बोर्डिङ हाई स्कुलले आफ्नो ४५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
२०३७ फागुन ५ गते स्थापना भएको उक्त विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनमा जोड दिँदै आएको विद्यालयले जनाएको छ ।
विद्यालयले शैक्षिक गतिविधिसँगै कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन, हाजिरी जवाफ, चित्रकला लगायत विभिन्न प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। त्यस्तै भलिबल, बास्केटबल, टेबल टेनिस, कराँते, कबड्डी तथा दौडजस्ता खेलकुद क्षेत्रमा पनि विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरेको छ। सोही विद्यालयले यही पौष २८ गतेदेखि माघ ४ गतेसम्म खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको थियो भने माघ १८ गतेदेखि २९ गतेसम्म कक्षागत बाल प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गरी विद्यार्थीहरूको प्रतिभा अभिभावक समक्ष प्रस्तुत गरिएको थियो।
सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजूले दिप बोडिङ्लाई नयाँ प्रविधि सँग जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्रको रूपमा स्थापित गर्ने बताए ।
यसैबिच विद्यालयले विगत १३ वर्षदेखि सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय ‘दीप गायन तारा’ प्रतियोगिता पनि यस वर्ष पनि पुनः आयोजना गर्न लागेको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए ।
न्यौपानेका अनुसार फागुन १ गते शुक्रबार देखी प्रतियोगिताको पहिलो चरण सञ्चालन हुनेछ, जसमा प्रतियोगीहरूले ट्याकसहित दुई वटा गीत प्रस्तुत गर्नुपर्नेछ। उक्त चरणबाट उत्कृष्ट १५ जना प्रतियोगी छनोट गरिनेछ।
त्यसपछि फागुन ४ गते सोमबार दोस्रो चरण सञ्चालन हुनेछ, जसमा छनोट भएका प्रतियोगीहरूले एउटा राष्ट्रिय गीत र एउटा स्वैच्छिक गीत प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगितामा आयोजक विद्यालयका विद्यार्थीहरू सहभागी हुन नपाउने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
यस प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाईँ, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवील परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिजाली र विशेष भुर्तेल गरी १२ जना विद्यार्थी दीप गायन तारा बन्न सफल भइसकेका छन्। उनीहरू हाल राष्ट्रिय कलाकारिता क्षेत्रमा स्थापित हुँदै गएका छन्।
त्यसैगरी विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था एसोसिएसन अफ दिप बोडिङ्ग एक्स स्टुडेन्ट (एडिबीइएसटी) ले वार्षिकोत्सवको अवसरमा २०८२ फागुन २ गते भूपू विद्यार्थी बृहत् मेला तथा फागुन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।
बिहीबार पत्रकार सम्मेलनमा प्राचार्य न्यौपानेले विद्यालयको वार्षिकोत्सव तथा दीप गायन तारा प्रतियोगिता सम्बन्धी कार्यक्रमलाई डिजिटल प्लेटफर्म मार्फत विद्यार्थी र अभिभावक सम्म सूचना पुर्याउन सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका थिए ।