Butwal Today

विज्ञापन बोर्डद्वारा कानुन उल्लंघन गर्ने पत्रिकामाथि कारबाही

२९ माघ २०८२, बिहीबार
अ+
अ-
बुटवल । नेपाल सरकारअन्तर्गतको विज्ञापन बोर्डले विज्ञापनसम्बन्धी कानुन उल्लङ्घन गर्ने सञ्चारमाध्यममाथि कारबाही थालेको छ। पछिल्लो समय कानुन उल्लंघन गरेको ठहर गर्दै दुई वटा दैनिक पत्रिकामाथि कारबाही गरेको थियो।
बोर्डले प्रकाशित गरेको विज्ञप्तिअनुसार प्रदेशस्तरमा वर्गीकरणमा परेको कपिलवस्तुबाट प्रकाशन हुँदै आएको ‘बुद्ध दर्पण’ प्रादेशिक दैनिक र वर्गीकरणमा नै नपरेको भैरहवाबाट प्रकाशन हुँदै आएको ‘गौतम बुद्ध सन्देश’ पत्रिका ले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको थियो ।
विज्ञापन बोर्डका अनुसार लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका केही स्थानीय तह तथा सरकारी कार्यालयहरूले २०७९ असोज २ देखि २०७९ पुस २९ सम्म बोलपत्रसम्बन्धी सूचनाहरू उक्त पत्रिकाहरूमा प्रकाशन गरेका थिए । सो कार्य विज्ञापनसम्बन्धी प्रचलित कानुन विपरीत रहेको भन्दै बोर्डमा उजुरी परेको थियो ।
उजुरीमाथि अनुसन्धान गर्दा दुवै पत्रिकाले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिताको उल्लङ्घन गरेको ठहर भएको बोर्डले जनाएको छ ।
बोर्डको बैठकले निर्णय गर्दै ‘गौतम बुद्ध सन्देश’ दैनिकलाई २०८२ पुस १० गतेदेखि २०८२ माघ ९ गतेसम्म सरकारी वा सार्वजनिक निकायबाट प्राप्त हुने विज्ञापन, सूचना तथा सुविधा लिन नपाउने गरी रोक लगाएको थियो।*
त्यसै गरी कपिलवस्तुबाट प्रकाशन हुँदै आएको ‘बुद्ध दर्पण’ प्रादेशिक दैनिकलाई पनि बोर्डबाट उपलब्ध गराइने लोक कल्याणकारी विज्ञापन २०८३ असार मसान्तसम्म प्राप्त गर्न नपाउने तथा उक्त अवधिसम्म नवीकरण नगर्ने निर्णय गरिएको विज्ञापन बोर्डले जनाएको छ ।
विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले प्रकाशन गरेको विज्ञप्तिमा विज्ञापनसम्बन्धी कानुन र आचारसंहिता सबै सञ्चारमाध्यमले अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै उल्लङ्घन गरेमा यस्ता कारबाही निरन्तर हुने जनाइएको छ।
*संसोधन गरिएको  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?