© 2026
काठमाडौं ।
सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेका छन् ।
यस सामाजिक अभियानअन्तर्गत देशभरका विद्यालयहरूमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षबारे विद्यार्थीहरूलाई जानकारी प्रदान गरिनेछ । कार्यक्रमबाट ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हाल नमुना परियोजनाका रूपमा अघि बढाइएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिनेछ । कार्यक्रमका लागि इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ ।
उक्त पुस्तक सत्र सम्पन्न भएपछि सम्बन्धित विद्यालयका सहभागी छात्र–छात्राहरूलाई वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयनपछि आगामी आर्थिक वर्षदेखि अन्य प्रदेशमा समेत कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।
यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस: एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ ।
नेपालमा एनसेल र नासा सेक्युरिटीजले संयुक्त रूपमा सुरु गरेको यस कार्यक्रमको औपचारिक घोषणा मङ्गलवार पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एसआईटी सत्रका क्रममा गरिएको थियो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा तथा आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोगबारे आफ्ना धारणा विद्यार्थीहरूसमक्ष राखेका थिए ।
एसआईटी कार्यक्रम नेपालमा सुरक्षित तथा समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने एनसेल फाउन्डेसनको प्रतिबद्धतासँग जोडिएको छ ।
“म एक बाबु पनि हुँ, त्यसैले अभिभावकको रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्वपूर्ण विषय हो । आजको समयमा इन्टरनेटले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा यससँग सम्बन्धित जोखिमहरू बुझ्नु र त्यसका लागि तयार रहनु अझ आवश्यक भएको छ ।
एसआईटी कार्यक्रममार्फत हामीले विद्यार्थी तथा युवाहरूलाई डिजिटल संसारमा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका छौँ ।
यस कार्यक्रमले नयाँ पुस्तालाई आफू सुरक्षित रहँदै डिजिटल अवसरहरूको अधिकतम उपयोग गर्न आवश्यक मार्गदर्शन र उपकरण उपलब्ध गराउनेछ भन्नेमा म आशावादी छु,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
यस सहकार्यले दुवै संस्थालाई जिम्मेवार डिजिटल प्रवर्द्धकका रूपमा स्थापित गर्दै उदीयमान जोखिमहरूलाई सक्रिय रूपमा सम्बोधन गर्न सहयोग गर्नेछ । साथै डिजिटल साक्षरता, डिजिटल दृढता तथा व्यापक डिजिटल इकोसिस्टममा विश्वास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।