© 2026
बर्दिया ।
बर्दिया कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी सञ्चालन गरिएको बेतको फर्निचर तथा बाँसका हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, गुलरियाको आयोजनामा करिब डेढ महिनासम्म तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २० जना कैदीबन्दी सहभागी भएका थिए । सहभागीलाई बेतका मुढा, सोफा, कुर्सी, पुस्तक र्याकलगायत सामग्री निर्माणको व्यावहारिक सीप प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इन्द्रराज खत्रीले जानकारी दिए । उनका अनुसार सीपमूलक तालिमले कैदीबन्दीलाई सजाय अवधि पूरा भएपछि आत्मनिर्भर बन्न सहयोग पुग्नेछ । बेत र बाँसबाट बनेका सामग्रीको बजार माग राम्रो रहेकाले उत्पादन बिक्रीबाट आयआर्जनको सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले तालिमले कैदीबन्दीलाई समाजमा पुनःस्थापित हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहसँग सहकार्य गरी उत्पादनको बजारीकरण, कच्चा पदार्थको उपलब्धता र सीपलाई आयआर्जनसँग जोड्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कारागार प्रशासनका अनुसार यस्ता सीपमूलक कार्यक्रमले कैदीबन्दीको व्यवहार सुधारका साथै भविष्यमा रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।