© 2026
रोल्पा ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट पूर्व अर्थमन्त्री वर्षमान पुन रअर्थविज्ञ डा. सुदनकुमारवलीको प्रतिस्पर्धालाई विशेष रोचक मानिएको छ । पटक पटक मन्त्री भइसकेका पुनलाई चुनौती दिन अर्थ विज्ञ वली चुनावी मैदानमा होमिएका हुन् ।
हाल नेपाली कम्युनिष्ट पार्टीबाट राजनीति गरिरहेका पुन २०६४ सालदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन् ।
पहिलो संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित पुन दोस्रो संविधान सभा निर्वाचनमा भने मोरङ क्षेत्र नम्बर९ मा नेपाली काँग्रेसका डिगवहादुरलिम्वुबाट पराजित भए ।
२०६७ माघ २३ मा झलनाथ खनाल नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उनी शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी अर्थमन्त्रीको रूपमा सहभागी भए । उनी २०७४ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र२०७९ सालमा फेरि अर्थमन्त्री भएका थिए ।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुन नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलको गठबन्धनबाट ४१ हजार७१४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार४८५ मत प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनमा पुनसँग नेपाली काँग्रेसका उम्मेदवार युवा अर्थविद् डा. सुदनकुमारवली प्रतिस्पर्धामा छन् । ३४ वर्षीय वलीले अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विषयमा चीनबाट विद्यावारिधि गरेका छन् ।
२०६० सालदेखि नेपाल विद्यार्थी सङ्घ मार्फत सक्रिय राजनीतिक यात्रा सुरु गरेका उनी काँग्रेसको १२ औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सक्रिय सदस्य हुँदै काँग्रेसको आर्थिक नीति तथा योजना विभागका सदस्य बनेका थिए भने काँग्रेसको नीति, तालिम तथा अनुसन्धान संस्थानका विशेषज्ञ सदस्यका रूपमा पनि काम गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयका लागि नीति विज्ञ, लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानहरूका सल्लाहकार तथा प्रशिक्षकसमेत हुन् । अर्थशास्त्र, नीति निर्माण, योजना तथा अनुसन्धानमा गहिरो दक्खल राख्ने डा. वली शिक्षित, नीतिगत र विकासमुखी राजनीतिको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन् ।
माओवादीको दवदवा रहेको रोल्पामा यसअघिका निर्वाचनमा समेत नेपाली काँग्रेससँग मुख्य प्रतिस्पर्धा हुने गरेको छ । २०१५ सालमा गजुलका खडानन्द सुवेदीले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यति बेला रोल्पा छुट्टै जिल्लाको रूपमा अस्तित्वमा थिएन । २०१९ सालमा प्युठान, सल्यान, रुकुमका केही भाग मिलाएर रोल्पा बनेको हो । पञ्चायती कालमा भएका सबै निर्वाचन बालाराम घर्ती मगरले जितेका थिए ।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना पश्चात् २०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनमा रोल्पाबाट तत्कालीन संयुक्त जनमोर्चा नेपालका उम्मेदवारले जितेका थिए । रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट बरमन बुढा मगरले ९ हजार६५६ मत ल्याई विजयी हुँदा क्षेत्र नं २ बाट सोही पार्टीका कृष्णबहादुर महरा १२ हजार६३६ मत ल्याएर निर्वाचित भएका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा भने तत्कालीन संयुक्त जनमोर्चा नेपालले बहिष्कार गरेको थियो । सो निर्वाचन राप्रपा र नेपाली काँग्रेसले जितेका थिए । रोल्पा निर्वाचन क्षेत्र नं. १ मा राप्रपाका बालाराम घर्तीमागरले ९ हजार५२३ मत ल्याइ विजयी हुँदा क्षेत्र नं. २ बाट काँग्रेसका सुरेन्द्र हमालले १७ हजार३९५ मत ल्याइ विजयी भएका थिए ।
२०५६ मा आइपुग्दा रोल्पाका दुवै निर्वाचन क्षेत्र नेपाली काँग्रेसले जितेको थियो । निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका लेखनाथ आचार्य ६ हजार६९५ मत ल्याइ विजयी हुँदा क्षेत्र नं. २ बाट पुनः सुरेन्द्र हमालले ८ हजार३४४ मत ल्याइ निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचन तत्कालीन माओवादीले सक्रिय बहिष्कार गरेका कारण रोल्पाका दुवै निर्वाचन क्षेत्र काँग्रेसले जितेको थियो ।
२०६३ मङ्सिर५ गते भएको बृहत् शान्ति सम्झौतासँगै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पहिलो पटक भाग लिएको २०६४ सालको संविधान सभा निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्र रहेको रोल्पाका दुवै निर्वाचन क्षेत्र नेकपा माओवादीले जितेको थियो ।
सो निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट जय पुरी घर्तीले नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनी २६ हजार पाँच सय पाँच प्राप्त गरी विजयी भएकी थिइन् । रोल्पा निर्वाचन क्षेत्र नं. २ बाट सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ३४ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए । दाहालले रोल्पा छाडेर काठमाडौं रोजेपछि २०६५ सालमा भएको उपनिर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. २ मा सो पार्टीका उम्मेदवार सन्तोषकुमार बुढामगरले १४ हजार दुई सय ८७ मत घटाएर१९ हजार नौ सय ३३ मत प्राप्त गरी विजयी भएका थिए ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट कृष्णबहादुर महरा विजयी हुँदा रोल्पा निर्वाचन क्षेत्र नंं. २ बाट ओनसरी घर्तीमगरनिर्वाचित भएकी थिइन् । यही कार्यकालमा कृष्णबहादुरमहरा रओनसरी घर्तीमगरपालैपालो अर्थमन्त्री बनेका थिए । २०७२ सालको संविधानले गरेको राज्य पुनःसंरचना अनुसाररोल्पा एक निर्वाचनमा खुम्चिएको थियो ।
यसैक्रममा २०७४ सालमा भएको निर्वाचन नेकपा एमाले रनेकपा माओवादी केन्द्रले गठनवन्धन गरी लडेका थिए । पछि पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी बनाएका उनीहरूले एक मात्र निर्वाचन रहेको रोल्पा जिल्लाबाट वर्षमान पुनलाई उम्मेदवारबनाएका थिए । सो निर्वाचन भारी मतले विजयी भएका उनी वर्षमान २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस सहितका दलको समर्थनमा साझा उम्मेदवार बनी निर्वाचित भएका थिए ।
यसरी २०१५ सालदेखि २०७९ सालको निर्वाचनमा मुख्य प्रतिस्पर्धी रही कहिले निर्वाचन जित्दै आएको र कहिले निकटतम प्रतिद्वन्द्वी हुँदै आएको नेपाली काँग्रेस यस पटक कम्युनिष्ट किल्ला भत्काउने तयारीका साथ प्रतिस्पर्धामा उत्रिएको छ । रोल्पामा अन्य दलले निर्वाचन जित्नु फलामको चिउरा चपाए झैँ भए पनि यस पटक भने फरक माहौल बन्दै गएको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले दाबी गरेका छन् ।
२०७९ सालको निर्वाचनताका बिरामी परेका वर्षमान पुन आफू फिल्डमा नखटेरै भारी मतले चुनाव जिते पनि यस पटक भने निकै मेहनत गरी मतदाताको घरमा पुगिरहेका छन् । हरेक निर्वाचनमा गिर्दो जनमतबाट त्रसित पुनलाई सशस्त्र युद्धका आफ्नै सहयोद्धा समेत रहेका नेकपा माओवादीका उम्मेदवार चूडामनि वली र उदाउँदै गरेको दल रास्वपाका उम्मेदवार बलराम थापाको उम्मेदवारीले थप चुनौती थपिदिएको राजनैतिक वृत्तमा चर्चा हुने गरेको छ ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि भएको २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादीले रोल्पाबाट ६० हजार सात सय २५ मत ल्याएको थियो । त्यसपछि विभिन्न चिरामा विभक्त भएको माओवादीको मुख्य घटकको रूपमा रहेको नेकपा माओवादी केन्द्रले गत स्थानीय तह निर्वाचनमा ४१ हजार५९५ मतमा चित्त बुझाउनुपरेको थियो ।
उति बेला भन्दा बढेका मतदाताको सङ्ख्या अनि हालको त्यो मत हेर्दा उसले विरासत गुमाएको प्रस्ट हुन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सो पार्टीको समानुपातिक मत करिब २८ हजार रहेको थियो । समानुपातिक तर्फ नेपाली काँग्रेसले करिब १५ हजार नेकपा एमालेले करिब ११ हजार मत ल्याउँदा रास्वपाले करिब २ हजार मत ल्याएको थियो ।
दश स्थानीय तह रहेको रोल्पामा यसअघि भएका दुई वटा स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले अधिकांश स्थानीय तह जितेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले ७ स्थानीय तह जित्दा नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ स्थानीय तह जितेको थियो ।
सो निर्वाचनमा रोल्पाका थवाङ, परिवर्तन, गंगादेव, माडी, सुनछहरी र सुनिलस्मृती गाउँपालिका तथा जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो । सो निर्वाचनमा नेकपा एमालेले जिल्लाको रुन्टीगढी रत्रिवेणी गाउँपालिका जित्दा नेपाली काँग्रेसले लुँग्री गाउँपालिकामा चित्त वुझाउनु परेको थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा समेत ७ स्थानीय तह जितेको सो पार्टीले जिल्लाका थवाङ, परिवर्तन, माडी, सुनछहरी, लुँग्री रसुनछहरी गाउँपालिका तथा रोल्पा नगरपालिका जितेको थियो । यो निर्वाचनमा दश मध्ये ७ वटा स्थानीय तह जितेर अघिल्लो विरासत कायमै राखेको नेकपा माओवादी केन्द्रले गंगादेव गाउँपालिका गुमाउँदा लुंग्री गाउँपालिका जितेको थियो ।
सो निर्वाचनमा नेपाली काँग्रेसले रुन्टीगढी गाउँपालिका रगंगादेव गाउँपालिका जितेको थियो । अघिल्लो निर्वाचनमा जितेको लुँग्री गाउँपालिका गुमाएको उसले २०७९ को निर्वाचनमा नेकपा एमालेले जितेको रुन्टीगढी रनेकपा माओवादी केन्द्रले जितेको गंगादेव गाउँपालिकामा विजयी भएको थियो । २०७९ सालको निर्वाचनमा एमालेले त्रिवेणी गाउँपालिका जितेको थियो ।
अघिल्लो निर्वाचनमा रुन्टीगढी रत्रिवेणी गाउँपालिका जितेको सो पार्टीले २०७९ सालको निर्वाचनमा भने रुन्टीगढी गाउँपालिका गुमाउँदा त्रिवेणी गाउँपालिकामा मात्रै सीमित भएको थियो । त्यसो त रोल्पाबाट नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका गोकुलप्रसाद घर्तीमगरपनि सशस्त्र उम्मेदवार मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका ५१ वर्षीय घर्तीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०६३ अनेरास्ववियुका महासचिव, नेकपा (एमाले) पोलिटब्युरो सदस्य, २०७० संविधानसभा सदस्य र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षसमेत बनेका थिए । अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित घर्ती १९ औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । उनी एमाले केन्द्रीय सदस्य समेत हुन् ।
नेकपा माओवादीबाट ५३ वर्षीय चूडामणि वली प्रतिस्पर्धामा छन् । २०४२ सालदेखि राजनीतिक यात्रामा रहेका उनी नेकपा माओवादीको विभिन्न जिम्मेवारी पूरा गरेका व्यक्ति हुन् । पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी रोल्पा जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेका उनले त्यसअघि माओवादी सेनामा बटालियन र ब्रिगेड कमान्डरको भूमिका निर्वाह गरेका थिए ।
एकीकृत नेकपा माओवादी विभाजनपछि बनेको नेकपा माओवादीको केन्द्रीय सदस्य, सह इन्चार्ज, केन्द्रीय न्याय विभाग प्रमुख हुँदै हाल सो पार्टीको पोलिटब्युरो सदस्य रहेका छन् । उनले माओवादी द्वन्द्वका क्रममा र पछिल्लोपटक पार्टी प्रतिबन्ध भएको समयमा समेत पटक पटक पक्राउ परी लामो समय हिरासत रकारागारजीवन बिताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला उपाध्यक्ष बलराम थापालाई उम्मेदवार बनाएको छ । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले निर्माण व्यवसायी, इन्जिनियरिङ तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७५ वर्षीय अम्मरबहादुर थापा क्षेत्री चुनावी मैदानमा छन् । २०४७ सालदेखि राप्रपाको सक्रिय राजनीति सुरु गरेका उनी हाल राप्रपाको केन्द्रीय सल्लाहकार समिति सदस्य हुन् । राष्ट्रिय जनमोर्चाबाट ५७ वर्षीय मेखबहादुर बिष्ट उम्मेदवार बनेका छन् ।
भारत प्रवासमा रहँदा एकता समाज मार्फत राजनीतिक सुरु गरेका थापा राष्ट्रिय जनमोर्चा रोल्पाको जिल्ला अध्यक्ष समेत हुन् । यसका साथै मङ्गोल नेसनल अर्गनाइजेसनबाट ५३ वर्षीय कुमार घर्तीमगर, नेशनल रिपब्लिक नेपालबाट २९ वर्षीय मनबहादुरघर्ती मगर र प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट ५० वर्षीय दिलबहादुर कामी निर्वाचनमा होमिएका छन् ।