© 2026
बुटवल ।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसर पारेर सरसफाइ अभियान सुरु गरेको छ । अभियानको औपचारिक सुरुवात बुटवल–योगीकुटी क्षेत्रबाट गरिएको हो ।
अभियानको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई सफा र सुन्दर सहरका रूपमा विकास गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताए । उनले सहरलाई स्वच्छ राख्न सबै क्षेत्र र समुदायको साथ तथा सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
नगरप्रमुख पाण्डेयका अनुसार बुटवललाई सफा, सुन्दर र हरियालीयुक्त सहरका रूपमा स्थापित गर्दै पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने लक्ष्यका साथ विगत ३ वर्षदेखि ‘हरियाली र उज्यालो बुटवल’ अभियान सञ्चालन हुँदै आएको छ । बुटवलको ऐतिहासिक, व्यापारिक र आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सरसफाइ, हरियाली र उज्यालो बुटवल अभियानलाई सँगसँगै अघि बढाइएको उनले बताए ।
अभियान सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
उपप्रमुख सावित्रादेवी अर्यालले सरसफाइ अभियानमा सहभागी हुन जनप्रतिनिधि, कर्मचारी, नगरवासी, सामाजिक संघसंस्था, राजनीतिक दल तथा स्वयंसेवी संस्थाहरूलाई आह्वान गरिन् । नगर सफा रहे मात्र नागरिक स्वस्थ रहने भन्दै उनले घरघरबाटै सहर सफा राख्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार अभियानअन्तर्गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म मुख्य सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ । अभियानलाई चरणबद्ध रूपमा नगरका अन्य क्षेत्रसम्म विस्तार गरिने जनाइएको छ ।
