© २०२३
बुटवल, १९ पुस
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड“ले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरुलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने सुझाव दिएका छन । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण अभियान सम्पन्न कार्यक्रमपछि पग्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पस र युथ फर कन्जरभेसन एण्ड सस्टेनेवल एग्रिकल्चरको प्राविधिक टोलीसंग अन्तरक्रियामा सो कुरा बताएका हुन । सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जरुरी रहने उनले बताए । ‘स्थानिय पालिकाहरु मिलेर साझा मुद्दामा एकतावद्घ भई काम गर्नुपर्छ ।’–उनले भने । छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर ब्यवस्थापन, वावतारण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । ‘एउटा पालिकाले मात्र अभियान चलाएर सफल हुदैन ।’– उनले भने ।
कार्यक्रममा क्याम्पस प्रमुख डा रामभजन मण्डलले कृषि, वातावरणको विषयमा धेरै कामहरु गर्न सकिने सम्भावना रहेको बताए । नेपालमै त्रिभुवन विश्वविद्यालयबाट भेटनरी अध्यापन गराउने नमुना कलेज भैरहवा रहेको भन्दै यसलाई स्थानिय पालिकाहरुबाट थप सहयोग गरेर अघि बढाउन आग्रह गरे । कलेजले भेटनरी अस्पताल स्थापना गर्ने योजना बनाएको भएपनि बजेट अभावका कारण रोकिएको उनले दुखेसो गरे ।
कार्यक्रममा पशु चिकित्सकहरु डा. केशव लम्साल, डा. बिरेन्द्र श्रेष्ठ, डा गंगाप्रसाद यादव, पग्लिहवा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुको संस्था वाईसिएसएका अध्यक्ष रामभरस यादव, तिलकराम भुषाल, ओसिन थापामगरले दीगो विकासका कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा ३ दिनमा ८० सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण सम्पन्न गरिएको छ ।