© 2026
परमात्माले आफूबाटै उत्पन्न आत्माहरूका माध्यमले यस सृष्टिको संरचनालाई मिलाइरहेको हुन्छ ।
संसार धर्मले मात्र अथवा दिनले मात्र अथवा राम्राले मात्र अथवा सुखले मात्र अथवा देवताले मात्र चल्ने भएको भए उसले सायद अधर्म, रात, नराम्रो, दुःख, दानव इत्यादिको सृष्टि नै गर्दैनथ्यो होला ।
आफूले बनाएको सृष्टिलाई त्यही अनुरूप चलाउनका लागि विभिन्न समयमा आफैबाट उत्पन्न महापुरुषहरूद्वारा त्यहाँको व्यवस्था पनि मिलाइरहेको हुन्छ । परमात्माले खटाएका एकै आत्माले मात्र सबै थोक हुने भए सायद भगवान्कै अंशावतार परशुराम अष्ट चिरञ्जीवीका रूपमा छँदाछँदै परमात्मालाई श्रीरामचन्द्रका रूपमा आउनु पर्ने थिएन पनि होला ।
ती महापुरुषहरूका प्रसङ्गवशका कुरा बुझ्न नसकेर हामी अल्पज्ञले चाहिँ झन् उनै महापुरुषहरूलाई गाली गरिरहेका हुन्छौँ । त्यो सर्वशक्तिमान् भगवानको विशाल सृष्टिका यीइत्यादि विषय हामीले हाम्रो दृष्टि र क्षमताअनुसार नै सम्झेर ग्रहण गर्न सक्ने हुन्छौँ ।
त्यसैले त ती लाक्षणिक र कठिन विषय बुझ्नका लागि पढेर मात्र नहुने हुनाले विशेष साधनाका लागि पनि ऋषि महर्षिहरूले मार्ग निर्देशन गर्दै आउनुभएको छ । यसै प्रसङ्गमा केही समयअघि भारत देशको तात्कालिक मध्य प्रदेशमा परमात्माले लगभग एकै समयमा दुई महापुरुषहरू जन्मायो ।
सन् १९१८ मा महेश प्रसाद वर्माका रूपमा महर्षि महेश योगीलाई जन्मायो भने १९३१ मा चन्द्रमोहन जैनका रूपमा ओशोलाई जन्मायो । अध्यात्म र ध्यानका माध्यमले पौरस्त्य समाजमात्र नभएर पाश्चात्त्य समाजमा पनि तहल्का पिटेका दुबै महापुरुषहरू अहिले त यो संसारमा हुनुहुन्न ।
महर्षि महेश योगी सन् २००८ मा परलोक गमन गर्नुभयो भने दार्शनिक ओशो रजनिस त झन् सन् १९९० मैँ परलोक गमन गर्नुभएको थियो । महर्षि महेश योगी आधुनिक विज्ञानमा स्नातक त हुनुभयो तर त्यसबाट आनन्द प्राप्ति नभएकाले गुरुको खोजी गर्दागर्दै शंकराचार्य पीठाधीश स्वामी ब्रह्मानन्द सरस्वतीज्यूको सान्निध्यताबाट पौरस्त्य ज्ञान प्राप्त गर्नुभयो ।
रजनीश सानैमा मामाघरमा बसी अध्ययन गरी त्यसपछि भने आफ्नै गृहस्थानबाट नै दर्शन विषयमा स्नातक गरी पछि स्नातकोत्तर चाहिँ साइकोलोजी विषयमा गर्नुभयो । जीवनमा गुरु भनेर कसैलाई पनि उल्लेख नगरेका ओशोको ज्ञान उहाँको पूर्व जन्मकै कमाई हो भन्नेमा धेरैको मतैक्यता रहेको छ ।
महर्षि महेश योगीकै ध्यान अभियानका सहयोगी एवम् उहाँकै ध्यान शिक्षक तर पछि स्वतन्त्र तरिकाले नै ध्यान र ज्ञानको प्रचारमा लाग्नुभएका, रजनीश ओशोसँग पनि सङ्गत गर्नुभएका आध्यात्मिक गुरु श्री रविशङ्करज्यूले उहाँहरूका बारेमा केही नयाँ तथ्यको उद्घाटन गर्दै भन्नुभएका विषयलाई पनि प्रसङ्गवश यहाँ राखिएको छ ।
यस शताब्दीमा भारतको जबलपुरबाट दुईजना यस्ता सन्त आए, एक जनामहर्षि महेश योगीजी हुनुहुन्छ भने अर्का आचार्य रजनीश ओशो हुनुहुन्छ । यद्यपि दुई जनाको तुलना गर्नुपर्ने आवश्यक छैन, उहाँहरू दुबै जना आ–आफ्नो ठाउँमा धेरै नै योग्य हुनुहुन्थ्यो । उहाँहरूका आ–आफ्नै गुणहरू थिए । तर केही यस्ता गुणहरू थिए जो आज म तपाईंहरूसँग साझा गर्दैछु ।
महर्षि महेश योगीज्यूको विशेषता यस्तो थियो उहाँले कहिल्यै पनि कसैको आलोचना निन्दा गर्नुभएन । कसैलाई पनि नराम्रो बोलेको सुनिएन । अर्थात् अर्काको आलोचनाबाट उहाँ सधैँ टाढा हुनुभयो । तर दार्शनिक रजनीश ओशोज्यूको विशेषता भने महर्षिको भन्दा पूर्ण रूपमा फरक थियो । उहाँले आलोचना नगरेको व्यक्ति सायद भेटिँदैन ।
उहाँको भन्ने तरिका पनि यस्तो थियो कि तिमी वेकार छौ, तिमीले जीवनमा त्यसो गरेर के पायौ ? तिमीले त्यति धेरै पैसा किन लियौ ? तिमी कुनै कामको छैनौ, इत्यादि इत्यादि । उहाँ यति धेरै तार्किक हुनुहुन्थ्यो कि उहाँले आलोचना गर्न कसैलाई पनि छोड्नुभएन । यसरी सबैको आलोचना मात्र गर्ने उहाँले महर्षिज्यूको पनि आलोचना गर्नुभयो ।
उहाँले महर्षिज्यूलाई आलोचना गर्दै भन्नुहुन्थ्यो – तिमीहरूलाई महर्षिले मन्त्र जप गरेर सुताउनुहुन्छ । महर्षिले दिने त्यो मन्त्र केही होइन । यदि तिमीले मन्त्र जप गरिरह्यौ भने तिमी बोर हुनेछौ अनि बोरको कारणले गर्दा निदाउनेछौ । त्यसैले यदि तिमी सुत्न चाहन्छौ भने महर्षिज्यू कहाँ जाऊ तर तिमी यदि जाग्न चाहन्छौ भने मकहाँ आऊ ।
यसैगरेर सबैको आलोचना मात्र गर्ने तर तिनै ओशोले आफूले भनेका प्रसङ्गवशका कुराहरूलाई भक्तहरूले अर्कै बुझेको देख्नथाले । यसरी आफ्ना विषय प्रसङ्गका कुरा नबुझेको देखेर होला सायद उनै ओशोले मेरा सबै किताबहरू ल्याऊ र ती सबै जलाऊ समेत भन्नुभएको थियो । अमेरिकामा गएका बेला उहाँ त्यहाँ पक्राउ पर्नुभयो ।
जब उहाँ जेलमा हुनुहुन्थ्यो, उहाँसँग कुनै पैसो वा सम्पत्ति थिएन । उहाँले केही लाख रूपैयाँ अमेरिकी सरकारलाई तिर्नुपर्ने भयो । के तपाईंलाई थाहा छ त्यो उहाँका लागि चाहिने पैसो कसले तिरेको हो ? तपाइँहरूलाई पक्कै थाहाछैन आखिरीमा त्यो पैसो महर्षिज्यूले तिर्नुभएको थियो । महर्षिज्यूले नै उहाँलाई जेलबाट छुटाउनुभएको थियो ।
महर्षि र ओशोको बारेमा लेख्ने सिलसिलामा यो प्रसङ्गपनि यहाँ भनियो । यो नयाँ कुरा गुरु रविशंकरबाट आइसकेपछि केही ओशोका अनुयायी हुम् भन्नेहरूले रविशंकरजीले भन्नुभएको ओशोलाई महर्षिजीले जेलबाट छुटाएको कुरा झुठो हो पनि भन्न भ्याएका छन् ।
तर उनीहरूको कुरो होइन । किनभने गुरु रविशंकर न त महर्षि महेश योगी सम्बन्धित संस्थामा हुनुहुन्छ न त ओशोकै संस्थाहरूमा । उहाँ त्यसबेला चाहिँ महर्षि महेश योगीसँग सम्बन्धित संस्थामै ध्यान शिक्षक भएकाले यी सबै कुरा उहाँले देखेकै कुरा रहेछन् ।
यहाँ यो प्रसङ्ग ल्याएर कसैलाई ठूलो या सानो गराउन खोजिएको पक्कै होइन । किननिमाथि नै भनि सकियो दुबैजना परमात्माकै महिमा गानका लागि आएका पुरुषहरू नै हुनुहुन्थ्यो । तर अध्यात्मभित्रको दर्शनलाई पनि भौतिक रमझमका रूपमा प्रस्तुत गरिदिएर सबैलाई मीठो गरी बाँड्न सफल ओशो देखिनुभयो । ट्वाक्क गर्मी भएको बेला आइसक्रिम जस्ता वाणी उहाँका थिए ।
तर महर्षिका भने गर्मीलाई नै कसरी निवारण गर्न सकिन्छ भन्ने खालका कामहरू थिए । दुबै महापुरुषहरूको लक्ष्य गर्मीको उपचार थियो । अध्यात्मलाई केवल स्वर्ग र नर्कका रूपमा मात्र व्याख्या भइरहेका समयमा ओशो प्रणित ध्यानपनि कम छ भन्न मिल्दैन ।
त्यसमा पनि छुट्टै आनन्द छ । त्यस्तै महर्षि प्रणित भावातीत ध्यान त मानसिक तनाव कम गर्नका लागि सबैभन्दा प्रभावकारी भनी आधुनिक यन्त्रविज्ञानका ज्ञाताहरूले नै प्रयोगशालाका माध्यमले प्रमाणित गरिसकेकै विषय हो । ओशोले त्यस समयमा भावातीत ध्यानको आलोचना गरे पनि त्यो ध्यानको प्रभाव के छ भन्ने कुरा त ध्यान गर्नेहरूका जीवनशैली हेरेरै प्रमाणित छन् ।
त्यसैले यहाँ लौ भावातीत ध्यान ठिक भनेर दाबी गर्नैपर्दैन । स्वतसिद्ध नै छ । त्यस्तै ओशोले सनातन धर्मभित्रका कथाहरूका माध्यमले मान्छेहरूलाई रसिकपाराले जगाए । धर्म भित्रपनि एउटा भिन्नै प्रकारको दर्शनको व्याख्या गरे । तर सनातन धर्म भित्रका कर्मकाण्ड, भक्ति काण्ड र ज्ञान काण्डहरूलाई व्याख्या गर्दै यिनलाई अनिवार्य रूपमा गर्नैपर्दछ भन्ने खालले व्याख्या गरेनन् ।
भौतिक आनन्दलाई नै बढी महत्त्व दिए । आफ्नादार्शनिक प्रवचनले नै मानिसहरूलाई लठ्याए । आफु त पूर्ण सिद्ध थिए तर चेलाहरूलाई त्यो पाटो सिकाएको ट्याक्क देखिँदैन । तर महर्षिमा भएको त्यो ज्ञान उहाँका नजिकका प्रोफेसर डाक्टर टोनीनादर, प्रोफेसर डाक्टर जोन ह्याग्लिन आदि शिष्यहरूमा पनि प्रबल देखिन्छ । भौतिक विद्या पढेका डाक्टर इञ्जिनियरहरू सनातन धर्मका कर्मकाण्ड, भक्ति काण्ड र ज्ञानकाण्डका महत्त्वका बारेमा वैज्ञानिक व्याख्या गर्ने भएका छन् ।
भावातीत ध्यान नै संसारका अधिकांश समस्याहरूको समाधान हो भनेर प्रत्यक्ष प्रमाणित गरेर देखाउने भएका छन् । औषधीका माध्यमले नभई भावातीत ध्यानकै माध्यमले मानसिक एवम् शारीरिक रोगहरूको निदान गरेरै देखाएका छन् ।
त्यसैले अन्त्यमा महर्षि महेश योगी र ओशो दुबै विशिष्ट व्यक्तिहरू हुनुहुन्थ्यो । यी दुबै महापुरुषहरूका नाममा दोकान राखेकाहरूका व्यवहार देखेर जसले उनीहरूलाई गाली गर्दछन् ती अध्ययन नै नभएका पटमूर्ख नै कहलिन्छन् ।
अंगुर अमिलो भनेर हिँड्ने स्यालकै कोटीमा पर्ने महाविद्वान् कहलिन्छन् । महर्षि महेश योगीको भावातीत ध्यान र दार्शनिक ओशोका दिव्य प्रवचनहरूलाई जीवनमा अलिकतिमात्र पनि प्रयोग गर्न सकियो भने यो जन्म त सार्थक हुन्छ नै परजन्म पनि अत्यन्तै सार्थक भएर जाने देखिन्छ । अस्तु ।