Butwal Today

अर्घाखाँचीमा निर्वाचन प्रहरीको तालिम (फाेटाे फिचर)

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची  ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीमा निर्वाचन प्रहरीको पिटी परेड तथा तालिम सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको व्यवस्थापनमा भर्ना भएका युवायुवतीलाई अहिले दैनिक रूपमा शारीरिक अभ्यास तथा आधारभूत सुरक्षा तालिम प्रदान गरिँदै आएको छ ।

सन्धिखर्क स्थित टुडीखेलमा बिहानैदेखि निर्वाचन प्रहरीहरू पिटी परेडमा व्यस्त देखिन्छन् । तालिमका क्रममा उनीहरूलाई अनुशासन, भीड व्यवस्थापन, मतदान केन्द्र सुरक्षा, आपत्कालीन अवस्था सामना गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिइँदै छ।

निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण तयार पार्न तालिम प्रभावकारी हुने विश्वास गरिएको छ ।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले बताएका छन् ।  निर्वाचन प्रहरीलाई जिम्मेवारी, कर्तव्य र आचरणबारे स्पष्ट जानकारी गराउँदै व्यवहारिक अभ्यास समेत गराइएको छ ।

अर्घाखाँचीमा कुल १ हजार २ सय ६५ जना निर्वाचन प्रहरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले बताएका छन् ।  उनीहरूलाई चरणबद्ध रूपमा तालिम दिइँदै छ । तालिम सम्पन्न भएपछि सबै निर्वाचन प्रहरीलाई आवश्यक स्थानमा खटाइने छ ।

निर्वाचन नजिकिँदै जाँदा सुरक्षा तयारीलाई प्राथमिकता दिँदै प्रशासनले समन्वयात्मक ढङ्गले काम अघि बढाएको जनाएको छ । जिल्लामा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित तालिम कार्यक्रम सञ्चालन भइरहेको छ ।