Butwal Today

पूर्व बैंकरकी श्रीमती पक्राउ, श्रीमान् फरार

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी कसुरमा एक पूर्व बैंकरकी श्रीमती पक्राउ परेकी छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ निवासी राधादेवी पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनका श्रीमान् पूर्व बैंकर तथा व्यवसायी पशुपति घिमिरे भने फरार रहेका छन् ।

पशुपति घिमिरे र राधादेवीविरुद्ध पीडित विमलाकुमारी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रारम्भमा प्रहरीले जाहेरी लिन नमानेपछि विमलाले हुलाकमार्फत उजुरी पठाएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले राधादेवीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार  आज सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइनेछ । “आज प्रतिवेदन बुझाउँछौँ, सम्भवतः शुक्रबार अदालतमा मुद्दा दर्ता हुनेछ,” बिहीबार उनले भने ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रकाश मरासिनीले मुद्दाका आरोपित र साक्षीहरूको बयान लिने क्रम जारी रहेको जानकारी दिए । “बयान लिने काम भइरहेको छ,” उनले बताए ।

पीडित विमलाकुमारी श्रेष्ठले करिब एक वर्षदेखि पशुपति र राधादेवीविरुद्ध उजुरी दिँदै आएकी थिइन् । तर, सत्ता, शक्ति र पहुँचको दुरुपयोग गरी पशुपतिले जाहेरी दर्ता हुन नदिएको उनको आरोप छ । त्यसपछि बाध्य भएर उनले हुलाकमार्फत जाहेरी पठाएकी हुन् ।

गत जेठ महिनामा पठाइएको उक्त जाहेरी तत्कालीन प्रहरी प्रमुख प्रदीप क्षेत्री र डीएसपी सुरज कार्कीले थन्काएर राखेको पीडितको दाबी छ । उनीहरूको सरुवा भई नयाँ नेतृत्व आएपछि मात्र अनुसन्धान अघि बढेको हो ।

यद्यपि, विमलाले अझै पनि अनुसन्धान निष्पक्षतामाथि आशङ्का व्यक्त गरेकी छन् । उनी भन्छिन्, “न्यायको आशा भने अझै मरेको छैन । साधुलाई सुली र अपराधीलाई चौतारो नहोस् भन्ने चाहना छ ।”

पशुपति घिमिरे तत्कालीन नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्क लिमिटेडका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनी र राधादेवी मणिग्राम क्षेत्रका पुराना व्यापारी मानिन्छन् । जग्गा व्यवसायमा समेत सक्रिय उनीहरूमाथि आर्थिक सङ्कटमा परेकाहरूबाट जग्गा लिएर उच्च ब्याजदरमा पैसा लगानी गर्ने गरेको आरोप लागेको छ ।

पीडित विमलासँग पशुपतिको चिनजान २०६३ चैत १५ गते जय गुरुदेव ढुकुटी खेलाउने क्रममा भएको थियो । त्यसपछि आर्थिक कारोबार सुरु भएको र पशुपतिले सय कडामा ३६ प्रतिशत ब्याज असुल्ने गरेको विमलाको भनाइ छ । प्रत्येक तीन महिनामा ब्याजलाई साँवामा जोडेर त्यसकै पनि ब्याज लिने गरिएको उनले बताइन् ।

सोही क्रममा मुख्य राजमार्गमा रहेको आफ्नो घर राधादेवीको नाममा पास गराइएको विमलाको दाबी छ । पशुपतिले आफ्नै डायरीमा ब्याज जोड्दै रकम २३ करोड ७६ लाख ८२ हजार ६७१ रुपैयाँ पुगेको लेखेको उल्लेख गरिएको छ ।

विमलाका अनुसार उक्त घरजग्गाको वास्तविक मूल्य पाँच करोड ४१ लाख रुपैयाँ मात्र हो । उनले विभिन्न मितिमा पशुपतिलाई एक करोड ७६ लाख ४८ हजार ७६० रुपैयाँ दिएको र अझै दुई करोड ७३ लाख ४८ हजार ७६० रुपैयाँ पाउन बाँकी रहेको बताइन् ।

देशभर मीटरब्याजको समस्या गम्भीर बन्दै गएपछि सरकारले  उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भरतबहादुर बोहरा र नेपाल अडिटर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई सदस्य थिए ।

आयोगले नदिएको रकम दिएको भनी लिखत बनाउने, वास्तविक रकमभन्दा बढी रकम देखाउने, ब्याजलाई साँवामा जोड्ने, तिरेको रकमको भरपाई नदिने, कानुनले तोकेभन्दा बढी ब्याज असुल्ने, धम्की दिएर ऋण असुल्ने तथा अनुचित लेनदेनका आधारमा अचल सम्पत्ति हक हस्तान्तरण गराउनेजस्ता कार्यलाई उजुरीको दायरामा ल्याउन कार्यादेश दिएको थियो ।

सोही कार्यादेशअनुसार अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ ।