Butwal Today

सुपका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

२० माघ २०८२, मंगलवार
अ+
अ-

महेन्द्रनगर ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गर्दै छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सुदूरपश्चिमका नौ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा बुधबार भोलिदेखि सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिने जानकारी दिए ।

“सोह्र वटै निर्वाचन क्षेत्रमा डिएसपीको नेतृत्वमा निर्वाचन सुरक्षा बेस भोलिबाट सञ्चालनमा आउँछन्”, निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक  सुवेदीले भने, “हामीले निर्वाचन केन्द्रित सुरक्षा योजना बनाएर अघि बढेको छौँ ।”

उनले आसन्न निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिममा पाँच हजार १०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने जानकारी दिए । “सबै जिल्लामा निर्वाचन प्रहरीलाई १० दिने तालिम अनुशिक्षण प्रदान गरिरहेका छौँ,” सुवेदीले भने, “निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सशस्त्र प्रहरीले प्रत्येक निर्वाचन क्षेत्रमा बेस स्थापना गर्ने भएको हो ।”

निर्वाचन सुरक्षामा खटिने सशस्त्रका सकल दर्जालाई अनुशिक्षण तालिमसमेत प्रदान गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले जनाएको छ । सशस्त्र प्रहरीले वाहिनीस्तरमा ‘वाहिनी निर्वाचन सेल’समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

“सबै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय, मतदान अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी परिचालन भइसकेको छ”, उनले भने, “सबै सशस्त्र प्रहरी कार्यालयमा रिजर्भ टोली तयारी अवस्थामा राखिनेछ ।”

सशस्त्र प्रहरीले निर्वाचनअघि अनुगमनसमेत गर्ने जनाएको छ । “अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसित सशस्त्र प्रहरीले समन्वय सहकार्य गरिरहेको छ”,उनले भने, “निर्वाचनअघि साधन स्रोतको व्यवस्थापन गरिनेछ ।” सशस्त्र प्रहरीअन्तर्गत सुदूरपश्चिममा एक हजार ५०० निर्वाचन प्रहरीलाई तालिम सञ्चालन भइरहेको छ ।