Butwal Today

समाजलाई सुरक्षित बनाउन प्रहरी कडा रूपमा उभिन्छ:  डीएसपी 

२० माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल  ।

इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले समाजमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न प्रहरी कुनै कसर बाँकी नराखी कडा रूपमा उभिने बताएका छन् ।

सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै डीएसपी श्रीवास्तवले समाजमा हुने हरेक किसिमका घटना–परिघटना नियन्त्रण गर्नु र दोषीलाई कानुनी दायरामा ल्याउनु प्रहरीको प्रमुख दायित्व भएको स्पष्ट पारे । उनले भने, “जनताको शान्ति सुरक्षामा प्रहरी प्रतिबद्ध छ, कुनै पनि अपराधलाई सह्य गरिँदैन ।”

तर, समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले मात्र असम्भव हुने तर्क गर्दै उनले समुदायको सक्रिय सहयोग अपरिहार्य रहेको बताए । “प्रहरी र नागरिकबिचको सहकार्य र समन्वय बलियो भयो भने मात्र अपराध नियन्त्रण प्रभावकारी हुन्छ,” उनले भने ।

डीएसपी श्रीवास्तवका अनुसार लागू औषध दुर्व्यसन तथा कारोबार रोकथाम, चोरी–तस्करी नियन्त्रण, हुल हुज्जत, ध्वनि प्रदूषण, ठुलो आवाजमा मोटरसाइकल पड्काउने तथा सामाजिक शान्ति खलबल्याउने गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनअनुसार कारबाही गरिनेछ ।

“लागू औषध र चोरी–तस्करीविरुद्ध ‘जिरो टोलरेन्स’ को नीति अपनाएर काम गरिरहेका छौँ,” उनले भने, “समाजमा असुरक्षा सिर्जना गर्ने कुनै पनि गतिविधि अब सह्य हुँदैन ।”

आउँदै गरेको आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न प्रहरीको ठुलो जनशक्ति परिचालन गरिने जानकारी पनि उनले दिए । निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने उनले बताए ।

डीएसपी श्रीवास्तवले शान्त, सुरक्षित र मर्यादित समाज निर्माणका लागि प्रहरीलाई सूचना दिन, सहकार्य गर्न र कानुन पालना गर्न सबै नागरिकलाई आग्रह गरे ।