Butwal Today

अस्पताल आफैं गाउँ पुगेपछि….

२० माघ २०८२, मंगलवार
अ+
अ-

चन्द्रौटा, २० माघ । 

बिहानीको कुहिरो अझै फाट्न सकेको थिएन । घना जङ्गलको छेउमा रहेको भितरियाको सानो बस्तीमा असामान्य चहलपहल थियो ।

काँधमा डोरी, हातमा औषधि बोकेको पशु सेवा टोली र बाख्रा–भैँसीसहित घर आँगनबाट निस्किएका स्थानीय–त्यो दृश्य आफैँमा आशा र भरोसाको सङ्केत थियो । कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको निःशुल्क पशु स्वास्थ्य शिविरले गाउँको दिनचर्या नै बदलिदियो ।

गाउँमै सेवा पाउँदा स्थानीयको अनुहारमा खुसी झल्किन्थ्यो । “पशु बिरामी परेपछि मात्रै टाढाको अस्पताल धाउनुपर्थ्यो” स्थानीय देवबहादुर खत्री भन्छन्,“आज त गाउँमै डाक्टर आए, औषधि पनि निःशुल्क पाएँ । धेरै राहत मिल्यो ।” उनको बाख्राको उपचार हुँदै गर्दा वरिपरि उभिएका गाउँलेहरू चासोपूर्वक हेर्दै थिए ।

सावित्रा थारूका लागि यो शिविर झनै नयाँ अनुभव थियो । “पहिलो पटक अस्पताल आफै गाउँ आएर सेवा दिएको देख्दा खुसी लाग्यो” उनी भन्छिन् । यस्ता कार्यक्रम नियमित भए किसानलाई धेरै सजिलो हुन्छ । पशुपालन नै आम्दानीको मुख्य आधार बनेको यस क्षेत्रमा सानो रोगले पनि ठुलो आर्थिक असर पार्ने गर्छ । यही समस्यालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा. सुकई प्रसाद थारुले ग्रामीण भेगमा सेवा प्रवाह प्रभावकारी भएको बताए । उनका अनुसार १४२ वटा बाख्रा, ७६ वटा भैँसी राँगा दर्जनौँ कुखुरा गरि ३०० बढी पशु चौपायालाई निःशुल्क औषधि उपचार सेवा दिइएको छ ।

“ग्रामीण भेगमा पुगेर सेवा दिँदा प्रभावकारी हुन्छ भन्ने थप अनुभव भयो” उनले भने । स्थानीयका लागि त्यो शिविर सेवा भन्दा बढी आशाको उज्यालो बनेर आयो ।