Butwal Today

गुल्मी–१ निर्वाचन: पुरानालाई चुनौती, नयाँको परीक्षा

गुल्मी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यस क्षेत्रमा अनुभवी ‘हेभी वेट’ नेताहरू र परिवर्तनको एजेन्डा बोकेका नयाँ पुस्ताका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । स्थायित्व र विकासको दाबी गर्ने पुराना दलका उम्मेदवार तथा सुशासन र जबाफदेहिताको माग अघि सार्ने नयाँ शक्ति आमनेसामने छन् । यसले गुल्मी–१ को चुनावलाई मात्र होइन, राष्ट्रिय राजनीतिलाई समेत सङ्केत दिने चुनावका रूपमा हेरिएको छ ।
१८ माघ २०८२, आइतबार
अ+
अ-

गुल्मी, १८ माघ । 

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा यति बेला चुनावी चहलपहल बढ्दै जान थालेको छ ।

यस क्षेत्रमा लामो समयदेखि स्थापित, राष्ट्रिय राजनीतिको केन्द्रमा प्रभाव जमाइसकेका ‘हेभी वेट’ नेताहरू र पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिको नारा बोकेर उदाएका नयाँ अनुहारबिच कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

राजनीतिक दलका उम्मेदवारहरू गाउँ गाउँमा पुगेर कार्यकर्ताहरूसँग छलफल गर्दै यस पटकको निर्वाचनमा आफ्नो पक्षमा जित निकाल्नका लागि घनिभूत रूपमा छलफल र बैठक तथा भेलाहरूमा जुट्न थालेका छन् । गाउँमा बिस्तारै चुनावी माहौल सुरु हुन थालेको छ ।

यस क्षेत्रमा निवर्तमान सांसद तथा नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेकपा एमालेबाट केन्द्रीय सदस्य एवं पूर्व मन्त्री प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुदर्शन बरालबिच चुनावी प्रतिस्पर्धा हुन गइरहेको छ ।

पटक पटक चुनावी मैदानको यात्रा तय गरेर कहिले विजयी त कहिले पराजय व्यहोरेर लामो चुनावी अनुभव लिएका नेताहरूबिचको प्रतिस्पर्धाले गुल्मी क्षेत्र नं. १ लाई राष्ट्रिय स्तरमै चासोको रूपमा हेरिएको छ ।

चन्द्र भण्डारी गुल्मीको राजनीतिमा परिचित र अनुभवी नाम हो । लामो समयदेखि काँग्रेसको सङ्गठन विस्तारदेखि संसद्मा, जिल्लादेखि राष्ट्रिय स्तरसम्मका मुद्दा उठाउँदै आएका भण्डारीले आफूलाई राष्ट्रवादी र विकासवादी उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् ।

जिल्लाको विकास निर्माण, सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफूले खेलेको भूमिकालाई उनले प्रमुख चुनावी एजेन्डा बनाएका छन् । काँग्रेसको परम्परागत जनाधार एवं मताधार, सङ्गठनात्मक संरचना र स्थानीय नेता–कार्यकर्ताको सक्रियताका कारण भण्डारीले आफूलाई अझै अब्बल बनाएको बताउँछन् ।

उता, नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली पनि कम प्रभावशाली छैनन् । पूर्व मन्त्री समेत रहिसकेका ज्ञवाली राष्ट्रिय राजनीतिमा स्पष्ट धारणा राख्ने, वैचारिक रूपमा सशक्त नेताका रूपमा चिनिन्छन् ।

एमालेको सङ्गठित शक्ति, अनुशासित कार्यकर्ताको समर्थनले चुनावी मैदानमा उनलाई झनै मजबुत बनाएको छ । उक्त क्षेत्रमा एमालेको बलियो सङ्गठन र जनाधार भएका कारण पनि ज्ञवाली यस पटकको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गर्छन् ।

यो निर्वाचन क्षेत्रमा यस पटकको निर्वाचनको सबैभन्दा चासोको विषय भनेको नयाँ पुस्ताका उम्मेदवारहरूको उपस्थिति हो । रास्वपाका केन्द्रीय सदस्य सागर ढकालले पुराना दल र नेताप्रति देखिएको बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा ल्याउने कसरतमा लागि परेका छन् ।

भ्रष्टाचारविरुद्ध कडा आवाज, सुशासन, पारदर्शिता र जबाफदेहिताको नाराका कारण ढकाल युवा पुस्तामाझ लोकप्रिय देखिन थालेका छन् । सामाजिक सञ्जालको प्रयोगमा सक्रिय उपस्थिति र परम्परागत राजनीतिक दलका नेता भन्दा फरक प्रस्तुतिले उनले मतदाताको ध्यान खिचिरहेका छन् ।

ढकालको अभियानले विशेष गरी युवा जनशक्ति, वैदेशिक रोजगारीमा रहेका तथा पुराना दलबाट निराश बनेका मतदातालाई आकर्षित गर्ने देखिन्छ । यद्यपि स्थानीय तहमा भर्खर भर्खर मात्र सङ्गठनात्मक संरचना निर्माण हुँदै गर्दा उनलाई बिचबाट जित निकाल्न थप मेहनत गर्नुपर्ने विश्लेषण गर्न थालिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुदर्शन बराल पनि गुल्मी–१ को चुनावी प्रतिस्पर्धामा फरक धार बोकेर मैदानमा उत्रिएका छन् । वर्गीय राजनीति, सामाजिक न्याय र श्रमिकका मुद्दालाई मुख्य एजेन्डा बनाउँदै आएका बराल जिल्लाको विकास निर्माणमा जुझारु, सक्रिय र स्पष्ट नेताका रूपमा चिनिन्छन् ।

यस क्षेत्रमा निर्वाचनका लागि उनी ‘हेभी वेट’ का नेताहरूसँग दह्रोसँग चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा उनको राजनीतिक उपस्थिति र उम्मेदवारी अर्थपूर्ण मानिन्छ ।

गुल्मी–१ मा अहिले दुई वटा स्पष्ट धार देखिन्छ । एकातिर अनुभवी, स्थापित नेताहरूले विकास र स्थायित्वको कुरा गरिरहेका छन् भने अर्कोतिर नयाँ पुस्ताले परिवर्तन, जबाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको माग अघि सारिरहेका छन् ।

चिया पसलदेखि चौतारासम्म, सामाजिक सञ्जालदेखि चुनावी भेटघाटसम्म जताततै यही बहस छ, “पुरानैलाई मौका दिने कि नयाँलाई परीक्षण गर्ने ?” भनेर ।

यो निर्वाचन केवल व्यक्ति चयनको मात्र प्रश्न होइन, मतदाताले कुन प्रकारको राजनीतिलाई समर्थन गर्छन् भन्ने सङ्केत पनि हो । यदि परम्परागत दल विजयी भए भने अनुभव र सङ्गठनको प्रभाव अझै बलियो रहेको सन्देश जानेछ भने यदि नयाँ शक्ति बलियो रूपमा उदायो भने, गुल्मी मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि यसले गहिरो प्रभाव पर्ने देखिन्छ ।

यसरी गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा हेभी वेट नेताहरू र नयाँ पुस्ताबिचको भिडन्तले चुनावी माहौललाई रोचक, प्रतिस्पर्धात्मक बनाएको छ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरी विजयी बनेका थिए भने एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका थिए । गुल्मी क्षेत्र नं. १ मा दश राजनैतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

हाल यस क्षेत्रमा १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् ।