Butwal Today

पर्यटक पर्खँदै स्वर्ग जाने बाटोसहितको गुफा

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

 गुल्मी, १५ माघ ।

गुल्मीको पर्यटकीय क्षेत्रको रूपमा चिनिने विचित्र गुफा यति बेला पर्यटकहरूको पर्खाइमा छ ।

आफैमा निकै सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकको लागि मुख्य आकर्षक गन्तव्य स्थल मानिन्छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको उक्त गुफा नेपालका चर्चित गुफाहरू मध्येमा पर्दछ । विचित्र गुफा जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा रहेको छ ।

धुर्कोट गाउँपालिका –५ स्थित वस्तुमा अवस्थित उक्त गुफा पर्यटकहरूका लागि आफैमा साँच्चिकै आकर्षक र विचित्रको छ । उक्त गुफाको ऐतिहासिक महत्त्व पनि अचम्मको र रोचक छ । २०४५ सालमा बारीमा मकै खान गएको ढेँडु बादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए ।

भण्डारीले आफ्नो बारीमा मकै खान आएको अवस्थामा ढेँडुवाँदरलाई देखेर लखेट्दै जाने क्रममा उक्त ढेँडुवाँदर एकाएक पहरा (चट्टान) को बिचमा रहेको सानो प्वालबाट भित्र पसेको भन्ने भनाइ छ । पछि स्थानीयहरूको केही समूह राँको बालेर ढेँडुबाँदर पसेको ठाउँ हेर्दै जाँदा त्यस क्षेत्रमा ठुलो गुफा रहेको पत्ता लगाएको स्थानीय समाजसेवी युवराज भण्डारीले बताए ।

गुफा पत्ता लागेपछि विचित्र गुफा हेर्नका लागि यति बेला आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन् । पछिल्लो समयमा बाह्य क्षेत्रमा समेत विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि गुफा हेर्न बेलाबेलामा विदेशी पर्यटकहरू समेत आउन थालेका छन् ।

पहिले फाट्टफुट्ट रूपमा केही विदेशी नागरिकहरू गुफा हेर्नका लागि आउने गरे पनि पछिल्लो समयमा फ्रान्स, जर्मनी र बेलायतका नागरिकहरू पर्यटककै रूपमा गुफा हेर्नका लागि आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

धेरै विदेशी नागरिकहरू सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा योग साधनाका लागि आएको अवसरमा एक पटक गुफामा पुगेर फर्कने गरेको अध्यक्ष पोख्रेलले बताए ।

विचित्र गुफाको लम्बाई एक सय ८५ मिटर छ भने चौडाइ तीन सय ५० मिटर रहेको छ । ठुलो र चौडा भूभागमा फैलिएका गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच वटा द्वारहरूका प्राकृतिक आकार देख्न सकिन्छ ।

विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्ययता बढाएको छ । गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले एक पटक सबैको ध्यान केन्द्रित गर्दछ ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । यो धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ ।

स्वर्गजाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ । त्यसदेखि अगाडी कुनै पनि दृश्य नभएको कारण उक्त ठाउँलाई विचित्रताको अन्तिम दृश्यको रूपमा मानिन्छ ।

जो मानिस उक्त स्वर्ग जाने बाटो भित्र छिर्न सक्छन् उनीहरूले आफूलाई साह्रै भाग्यमानी सम्झने गर्दछन् । गुफा भित्र रहेका विभिन्न जनावरहरूका आकृतिले गुफाको सौन्दर्ययतालाई थप शोभा थपिदिएको छ ।

गुफाको पर्यटन प्रवर्द्धन तथा संरक्षणका लागि स्थानीय पालिका, प्रदेश र सङ्घबाट गरी दुई करोड भन्दा बढी लगानी भैसकेको गाउँपालिका अध्यक्ष पोख्रेलले जानकारी दिए । सदरमुकाम तम्घासबाट उत्तर तर्फ १८ किलोमिटरको दूरीमा रहेको उक्त गुफामा पुग्न पक्की सडक हुँदै यातायातको माध्यमबाट झनै सजिलोसँग पुग्न सकिन्छ ।