© 2026
दाङ, १५ माघ ।
दाङकाे घोराही उप महानगरलाई नेपालकै पहिलो लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि तय गरिएका सबै सूचक पुरा भएपछि नगरकाे ४८ औँ स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराहीलाई लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरेका थिए । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले घोराहीले लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा गरेर देशमै नमुनायोग्य काम गरेको भन्दै यसको सिकाे सबै पालिकाहरूले सिक्नुपर्ने बताए ।
घोराहीले मानव विकास सूचकका आधारमा बालमैत्री र साक्षर नगरको घोषणा गरिसकेको उल्लेख गर्दै उनले संघीय र प्रदेश सरकारले तोकेका सूचक पूरा गरेर लैङ्गिक हिंसा नियन्त्रित नगर घोषणा हुनु सिंगो देश र प्रदेशकै लागि नमुनायोग्य काम भएको बताए ।
अब कुनै पनि घरपरिवारमा लैङ्गिक हिंसा नहुने, गर्न नदिने प्रतिबद्धता सबैले जनाइसकेको बताए । लैङ्गिक हिंसा नियन्त्रित पालिका देशमै पहिलो भएको बताए ।
साे अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराहीले भौतिक विकास मात्र नभएर सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरे । नगरलाई बालमैत्री,लैङ्गिक हिंसा नियन्त्रित जस्ता अभियान सफलतापूर्वक सम्पन्न गरेको भन्दै उनले आगामी दिनमा नगरले अगाडी सार्ने अभियानमा सबैले साथ दिनुपर्ने बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले समाजलाई समुन्नत र सभ्य बनाउन लैङ्गिक हिंसा नियन्त्रणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । देशको समग्र विकासका लागि पूर्वाधार विकासले मात्र नहुँदै भन्दै उनले सामाजिक विकास विना विकासले दिगो रूप लिन नसक्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री आचार्यले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चाैधरीलाई लैङ्गिक हिंसा नियन्त्रण घोषणा गरेकोमा कदर पत्र प्रदान गरेका थिए । यस्तै जिल्ला समन्वय समिति दाङद्वारा घोराही उप महानगरपालिकाको महिला,बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्मालाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।
यस्तै लैङ्गिक हिंसा नियन्त्रित नगर बनाउन सहयोग गर्ने विभिन्न संस्था,व्यक्तिलाई सम्मान गरिएको थियो । घोराही उप महानगरपालिकाका उपमेयर हुमा कुमारी डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरका विपत् व्यवस्थापन शाखाका प्रमुख मदनकुमार वलीले गरेका थिए ।