© 2026
बर्दिया, १५ माघ ।
बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका वडा नं. ११ बेलभार गाउँमा हरेक दिन चितुवा आउन थालेपछि गाउँ नै चितुवाको त्रासमा रहेको छ ।
हरेक दिन जसो गाउँमा दिउँसै साँझ र राति चितुवा देखिन थालेपछि गाउँ नै चितुवाको त्रासमा परेका हो । बार बर्दिया नगरपालिका वडा नं. १० र ११ मा करिब एक महिनाको अवधिमा चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
बेलभार गाउँसँग जोडिएको विजयनगर डफैया लगायतको गाउँमा चितुवा आएर दिनहुँ जस्तो घरपालुवा जनावर मार्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन् ।
सामुदायिक वनसँग जोडिएको गाउँमा चितुवा आएर बङ्गुर, खसी बाख्रा र गाई गोरु मारेर खान थालेपछि स्थानीय हैरान भएका छन् । बस्तीमा चितुवा आएपछि चितुवा लखेट्न स्थानीयले भाडा बजाउने र होहल्ला गरे धपाउने गरेका छन्।
कृषि पेसाबाट जीवन गुजारा गर्दै आएका बेलभार गाउँका वीरबहादुर थारुको घर अगाडिको गोठमा बाँधेर राखेको करिब ३० किलोको बङ्गुर चितुवाले मारिदिएको गाउँको स्थानीय हरिप्रसादथारुले बताए । उनले भने, ‘चितुवा बङ्गुर मारेर अगाडिको वनमा लगेर आधा खाएको अवस्थामा भेटियो । गाउँमा घर पालुवा जनावर खाने घटना दिनदिनै बढ्दै गएको छ । गाउँमा प्रायः बच्चासहितको चितुवा देखिन्छ । कति बेला कताबाट आएर कसलाई आक्रमण गर्छ भन्ने डर हुन्छ ।’
गाउँमा आइतबार साँझ ६ बजे चितुवा आएको देखेपछि गाउँका सबै जना जम्मा भएर होहल्ला र थाल ठटाएर चितुवालाई भगाएको कृष्ण थारुले बताए । उनले भने, ‘चितुवाले मान्छे मारेपछि डिभिजन वन कार्यालय खोर ल्याएर दुईचार दिन राख्छ । केही दिनपछि फेरि त्यो खोर लैजान्छ । मंसिर १२ गते गोपी थरुनीलाई चितुवा आक्रमण गरेर मा¥यो । गोपी थरुनीको मृत्यु भएपछि डिभिजन वन कार्यालयले खोर ल्याएर राख्यो । अहिले त्यो खोर अर्को ठाउँ लगेर गएको छ । तर चितुवा गाउँमा दिनहुँ आइरहेको हुन्छ ।’
चितुवाले आक्रमण गरेर तीन वटा बाख्रा मारिदिएको बेलभार गाउँकी सुन्तली चौधरीले बताइन । उने भनिन्, ‘खसी बाख्रा बेचेर घर खर्च चलाउने गरेकी थिए । चितुवाले तीन वटा खसी बाख्रा मारिदियो । अब घर खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । एकातिर घर खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता छ । भने अर्कोतिर केटाकेटीहरू कुरा बुझ्दैनन् खेल्न यताउता जान्छन् । चितुवा कुन बेला आएर के गर्छ, थाहा हुँदैन ।’

बेलभार गाउँकी सुमिता चौधरीले चितुवाले आक्रमण गरेर घरमा पालेको बँंगुर मारे पनि कुनै निकायबाट आफूले राहत नपाएको गुनासो जनाइन । ‘गाउँमा दिनहुँ चितुवा आएर घरमा पालेका खसी बाख्रा बङ्गुर मारेर खाइदिन्छ । राहत कसले दिन्छ ? कसरी पाइन्छ थाहा छैन । गाउँमा चितुवाको त्रास यति धेरै छ कि गाउँ पहिला कस्तो चहलपहल हुँदैन । साँझ परेपछि सबै जना घरमा बस्नुहुन्छ । गाउँमा केही समस्या परे बाहिर निस्किने वातावरण छैन ।’ उनले भनिन्, चितुवा कहिले खेतमा आउँछ, कहिले गाउँमा आउँछ । गाउँमा सबै जना चितुवा त्रासमा छन् ।’
बेलभार गाउँका मानबहादुर चौधरीले अहिले आफू ७० वर्षको भएको र बेलभार गाउँमा बस्न थालेको पनि ४७ वर्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला गाउँ यसरी चितुवा आएको थाहा थिएन । आजकाल दिनहुँ गाउँ चितुवा आउँछ । राति दिशा पिसाब गर्न आउँदा चितुवाले आक्रमण गर्छ , कि भन्ने डरले धेरैले दिशा पिसाब गर्न धेरैले घरभित्र बाल्टी र बाटा लग्ने गरेको छन् ।’
काला बेलभार सामुदायिक वनका अध्यक्ष धनिराम थारुले भन्छन्, चितुवाले घरपालुवा जनावर मारेपछि डिभिजन वन कार्यालय फोटो खिचेर वडा कार्यालय सिफारिस सहित ल्याउन भन्छ, तर चितुवाले घरपालुवा जनावर मारेर जङ्गलमा लैजान्छ । फोटो खिच्ने र प्रमाण जुटाउन गाह्रो हुने भएकोले पनि समस्या हुने गरेको बताए । उनले भने, ‘मैले घरमा पालेको बङ्गुर पनि चितुवाले आक्रमण गरेर मारेर लिएर गयो । प्रमाण जुटाउन नसक्दा राहत पाउन सकिन ।’
‘चितुवा गाउँमा आएको देखेपछि डिभिजन वन कार्यालयमा फोन गर्दा सब डिभिजन कार्यालय भन्नु भन्छन् , त्यहाँ फोन गर्दा पनि कुनै वास्ता हुँदैन ।’ उनले भने, ‘यहाँका अधिकांश मान्छेहरू ज्याला मजदुरी गरेर जीवनयापन गर्ने गर्छन् । ज्याला मजदुरी गर्न जाँदा कुन बेला चितुवाले आक्रमण गर्ने हो, थाहा हुँदैन । कम्तीमा चितुवालाई नियन्त्रण गरिदिएको भए मानिस र घरमा पालेको जनावर सुरक्षित हुने थिए ।’
वन्यजन्तुले आक्रमणबाट मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर गोठ क्षति, खाद्यान्न बालीको क्षति, माछाको क्षति र कुखुराको क्षति भएमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० राहत दिने व्यवस्था छ ।
तर राहत कसरी पाउने भन्ने थाहा नपाउँदा बेलभारका स्थानीयहरू पाउनु पर्ने राहतबाट समेत वञ्चित हुनुपरेको छ ।