Butwal Today

खडेरीपछि वर्षाले बाली सप्रिने आशा

१५ माघ २०८२, बिहीबार
अ+
अ-

गुल्मी, १५ माघ ।

लामो समयदेखि वर्षा नहुँदा खडेरीको चिन्तामा परेका गुल्मीका कृषकहरू हिउँदे वर्षापछि उत्साहित भएका छन् ।

समयमै परेको पानीले कृषकहरूलाई खेतबारीमा लगाएको बालीनालीको उत्पादनमा सुधार आउने आशा पलाएको छ ।

बुधबार बिहान जिल्लाका विभिन्न स्थानमा भएको वर्षाले हिउँदे बाली, तरकारी तथा फलफूल खेतीलाई प्रत्यक्ष फाइदा पुगेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

विशेषगरी गहुँ, आलु, तोरी, जौ, केराउ, फापर लगायतका हिउँदे बाली र सुन्तला, किवी, कागती लगायतका फलफूल खेतीका लागि यो वर्षा निकै उपयोगी भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए ।

“यस पटक लामो समयसम्म पानी नपर्दा माटो सुक्खा भएर हिउँदे बाली सुकेर जाने खतरा बढेको थियो, अहिले ढिलै भए पनि वर्षाभएपछि माटोमा चिस्यान भएको छ, यसले कृषकहरूलाई ठुलो राहत पुगेको छ,” उनले भने ।

कृषि ज्ञान केन्द्र गुल्मीले दिएको जानकारी अनुसार जिल्लामा पाँच हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ८७ हेक्टरमा तोरी, चार सय नौ हेक्टरमा जौ, एक सय ७५ हेक्टरमा फापर, नौं सय ६ हेक्टर आलु र एक हजार नौं सय ७५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ ।

समयमै पानी परेका कारण उत्पादनमा १५ देखि २० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ । वर्षाका कारण कृषकको लागत घट्ने र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

सुन्तलाको लागि मलजल गर्ने समयमा परेको वर्षा निकै उपयोगी भएको गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधाराका कृषक विष्णु खनालले बताए । जिल्लामा १४ सय १९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

किवी खेतीलाई पनि हिउँदे वर्षाले निकै राम्रो काम गरेको सत्यवती गाउँपालिका–८ भार्सेका कृषक यमबहादुर थापाले बताएका छन् । जिल्लामा एक सय ४३ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । वर्षाले समग्र हिउँदे बालीनालीलाई राम्रो गरेकोमा कृषकहरू खुसी बनेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका –४ का कृषक हरिप्रसाद आचार्यले पनि धेरै लामो समयपछि परेको पानीले लगाएको बालीनाली चाँडै सप्रिने भएकोले किसानहरूलाई ठुलो राहत पुगेको बताए ।

जिल्लाको काली गण्डकी, सत्यवती, चन्द्रकोट, मुसिकोट, रुरुक्षेत्र, छत्रकोटको अँगाहा, र इस्माको चौरासी लगायतका स्थानहरू जिल्लामा गहुँ खेतीको लागि बढी उत्पादनशील क्षेत्र मानिन्छन् । गुल्मीका ग्रामीण क्षेत्रमा अधिकांश कृषक वर्षामा आधारित कृषि प्रणालीमा निर्भर रहेका छन् ।

समयमा पानी नपर्दा उत्पादन घट्ने र कृषकको जीविकोपार्जनमा समेत असर पर्ने भएका कारण यस पटकको वर्षाले भने कृषकमा नयाँ आशा थपेको बताइएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई समय अनुसार मल प्रयोग गर्न, रोग कीरा नियन्त्रणमा ध्यान दिन र सम्भव भएसम्म आधुनिक कृषि प्रविधि अपनाउन आग्रह गरेको छ ।

लामो समयपछिको वर्षाले गुल्मीका डाँडाकाँडा मात्र होइन, कृषकको अनुहारमा पनि खुसी थपिएको हो । यसले जिल्लाको कृषि उत्पादनमा समेत थप सुधार आउने अपेक्षा गरिएको छ ।