© 2026
बुटवल ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१, गिठाखोलामा भिरालो खालका बारीहरू छन् ।
जहाँ सुनौलो हरियो रङका केरा बोटहरू लहरै उभिएका छन् । यही बारीका कारण ४५ वर्षीय प्रेम खनाल आज गाउँमै सफल किसानका रूपमा परिचित छन् । कहिल्यै ठुलो सपना नदेखेका प्रेमले सामान्य कृषिबाटै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
प्रेम पहिले पनि कृषि कर्ममै थिए । बोइलर, कोइलर, लोकल कुखुरा, बाख्रा र माछा पालन गर्दै आएका उनी केही फरक र दीर्घकालीन आम्दानी दिने खेतीको खोजीमा थिए । “धेरै मेहनत नलाग्ने, जोखिम कम हुने र निरन्तर उत्पादन दिने खेती के होला भन्ने सोच्दा केरा खेतीतर्फ मन गयो,” उनी सम्झन्छन् ।
यही साेंचले २०८० सालमा दुई रोपनी जग्गाबाट सुरु भएको केरा खेती आज १५ रोपनीमा फैलिएको छ । प्रेमले अहिले मालभोग, फुस्रे, झर्की, ठूलाकोसेलगायत पाँच जातका केरा खेती गरिरहेका छन् ।
जातको विविधताले बजारको माग अनुसार बिक्री गर्न सजिलो भएको उनी बताउँछन् । “म केरा काँचैमा बिक्री गर्छु, पकाएर भन्दा काँचै बेच्दा अलि फाइदा हुन्छ,” प्रेम भन्छन् ।
उनका अनुसार मालभोग केरा प्रतिकोसा पाँच रुपैयाँमा र झर्की, फुस्रे तथा ठुला कोसे प्रतिकोसा नौ रुपैयाँसम्ममा बिक्री हुन्छ । जाडो महिनामा मूल्य केही घट्ने भए पनि गर्मी सुरु भएसँगै माग र मूल्य दुवै बढ्ने गरेको उनको अनुभव छ ।
केरा खेती रोज्नुका पछाडि आर्थिक कारण मात्रै छैन । “एक पटक रोपेपछि पाँच वर्षसम्म उत्पादन हुन्छ, धेरै मेहनत पर्दैन र जङ्गली जनावरबाट पनि खासै डर हुँदैन,” प्रेम भन्छन् । पहाडी भेगमा जङ्गली जनावरको समस्या ठुलो भए पनि केरा बाली तुलनात्मक रूपमा सुरक्षित मानिन्छ ।
यही कारणले पनि उनले केरा खेतीलाई दीर्घकालीन रोजगारीको माध्यम बनाएका छन् । तीन वर्षको अवधिमा प्रेमले केरा खेतीमा पटक–पटक गरी दुई लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । यसबाट उनी वार्षिक दुई लाख पचास हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।
“अहिले पनि सन्तुष्ट छु, तर अझै दुई–ढाई रोपनी जग्गामा केरा थप्ने योजना छ,” उनी भन्छन् । क्रमशः क्षेत्र विस्तार गर्दै व्यावसायिक रूप दिने उनको सोंच छ ।
केरा खेतीले प्रेमको जीवनशैलीमा पनि परिवर्तन ल्याएको छ । घर खर्च सहज भएको छ, कृषि पेसाप्रतिको आत्मसम्मान बढेको छ । “विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आएको छ,” उनी भन्छन् ।
उनका दुई छोरी र एक छोरा छन्, तीनै जनाले स्नातक तहमा अध्ययन गरिरहेका छन् । उनको परिवार संयुक्त रूपमा मिलेर नै केरा खेतीमा संलग्न छ । जसले गर्दा उत्पादन र व्यवस्थापन दुवै सहज भएको उनी बताउँछन् ।
प्रेमको केरा बजार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क देखि प्युठानसम्म फैलिएको छ । स्थानीय व्यापारी र उपभोक्तामै केरा बिक्री हुने भएकाले बजारको खासै समस्या नभएको उनी बताउँछन् । “केरा राम्रोसँग बिकिरहेको छ, बजारको चिन्ता छैन,” उनी आत्मविश्वासका साथ भन्छन् ।
केरा खेतीसँगै प्रेमले माछा पालनलाई पनि निरन्तरता दिएका छन् । तीन जातका माछा उत्पादन गरेर गाउँमै बिक्री गर्दै आएका उनले कृषि विविधीकरणमार्फत जोखिम घटाएका छन् । एउटै बालीमा निर्भर नहुँदा आम्दानी स्थिर हुने उनको अनुभव छ ।
यद्यपि चुनौती भने छन् । प्रेमका अनुसार पछिल्लो समय केरामा गबारो र अर्को केराको गुभो कुहिने, थाम फाट्ने, केराको बोट मर्ने र ओइलाउने जस्ता समस्याहरू देखिन थालेको छन् । “किटनाशक औषधी प्रयोग गरेको छैन, जैविक रूपमा नै खेती गरिरहेको छु”–उनले भने ।
प्रेमका अनुसार पछिल्लो समय केरामा रोग देखिन थालेको छ । रासायनिक औषधी प्रयोग नगर्दा उत्पादन सुरक्षित भए पनि रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनी स्विकार्छन् ।
यसका लागि प्राविधिक सहयोग र तालिमको आवश्यकता रहेको उनको भनाइ छ । सरकारी सहयोगका सन्दर्भमा उनी धेरै उत्साहित छैनन् । “ठुलो अनुदान त पाएको छैन,” उनी भन्छन्, “तर यदि तालिम र प्राविधिक सहयोग मिले अझ राम्रो गर्न सकिन्थ्यो ।” प्रेम जस्ता किसानका अनुभवले स्थानीय तह र कृषि निकायले किसानमैत्री कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखाउँछ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्राविधिक कमल पन्थीले उनको केरा खेतीको सिँचाइका लागि केन्द्रले गत वर्ष पानी ट्याङ्की सहयोग गरेको बताए । “फलफूल खेती प्रवर्द्धनको लागि ज्ञान केन्द्रले काम गरिरहेको छ”–उनले भने ।
भूमिकास्थान–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले भने केराखेतीका लागि हालसम्म कुनै तालिम वा विशेष कार्यक्रम सञ्चालन नगरिएको बताए । “केरा खेतीका लागि हालसम्म वडाबाट कुनै प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छैन”–उनले भने ।
अर्घाखाँची जस्तो पहाडी जिल्लामा पनि व्यावसायिक केरा खेती सम्भव छ भन्ने उदाहरण प्रेम खनाल बनेका छन् । सीमित लगानी, निरन्तर मेहनत र सही सोच भए गाउँमै अवसर सिर्जना गर्न सकिने सन्देश उनको करा खेतीले दिइरहेको छ ।
युवाहरू बिदेसिने क्रम बढिरहेका बेला, गिठा खोलाको यो केरा बगैँचाले स्वदेशमै भविष्य खोज्न सकिने आशा जगाएको छ ।