Butwal Today

१० महिना पछि मेलमिलाप केन्द्र शुभारम्भ

१३ माघ २०८२, मंगलवार
अ+
अ-

नवलपरासी, १३ माघ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीले सङ्घको कार्यालयमा वाणिज्य तथा वित्तीय समस्यालाई मेलमिलापको माध्यमबाट समाधान गर्न मेलमिलाप केन्द्रको शुभारम्भ गरेको छ ।

शुभारम्भ कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायाधीश डा. राजेन्द्र प्रसाद आचार्यले केन्द्रको उद्घाटन गरेका हुन् । मेलमिलाप केन्द्रले अदालतमा वाणिज्य तथा वित्तीय समस्या सम्बन्धी मुद्दाको चाप कम गर्न सहयोग पुग्ने विश्वास न्यायाधीश आचार्यले व्यक्त गरे ।

केन्द्र सञ्चालनमा आएपछि अदालतमा विचाराधीन अन्य वाणिज्य तथा वित्तीय मुद्दाहरू पनि बादी–प्रतिवादीको सहमतिमा यहाँ पठाउन सकिने उनले बताए । अबदेखि यस केन्द्रले वाणिज्य तथा वित्तीय समस्या सम्बन्धी विवाद तथा मुद्दालाई प्राथमिकताका साथ समाधान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

औपचारिक रूपमा नाम मात्रको मेलमिलाप केन्द्र बन्न नहुनेमा जोड दिँदै न्यायाधीश आचार्यले सङ्घका पदाधिकारीलाई यसलाई व्यापक प्रचार–प्रसार गरी कार्यान्वयनमा ल्याउन र सफल बनाउँदै विश्वास जगाउन आग्रह गरे ।

यसका लागि सङ्घमाथि चुनौती थपिएको पनि उनले उल्लेख गरे । अदालतमा आउने मुद्दा प्रक्रियागत रूपमा ढिलो हुने र न्यायनिसाफमा ढिलाइ हुँदा पीडितले न्याय महसुस गर्न नसक्ने अवस्था सिर्जना हुने गरेको बताउँदै उनले मेलमिलाप केन्द्रमार्फत यस्ता विवाद छिटो टुङ्ग्याउन सकिने बताए ।

मेलमिलाप प्रक्रियाबाट दुवै पक्षले न्यायको अनुभूति गर्न सक्ने अवस्था सिर्जना हुने उनको भनाइ थियो । अदालतको फैसलाले कुनै पक्षलाई न्याय र कुनै पक्षलाई अन्याय महसुस गराउने अवस्था हुने तथा न्यायका लागि वर्षौँ कुर्नुपर्ने समस्या रहने उनले उल्लेख गरे ।

विदेशमा परापूर्व कालदेखि नै वाणिज्य तथा वित्तीय समस्या समाधानका लागि अदालत बाहिर मेलमिलाप केन्द्र (आर्बिट्रेसन) को प्रयोग हुँदै आएको उल्लेख गर्दै न्यायाधीश आचार्यले यसले विदेशी लगानी भित्र्याउनसमेत मद्दत पुग्ने बताए ।

विदेशमा पनि अदालती फैसला ढिलो हुने समस्या रहे पनि वाणिज्य तथा वित्तीय विवाद समाधानका लागि आर्बिट्रेसनको व्यवस्था भएकाले तत्काल समाधान निकाल्ने गरिएको उनको भनाइ थियो । यसले लगानी भित्र्याउने आधारसमेत बन्न सक्ने उनले बताए ।

लामो समयदेखि उद्योगी–व्यवसायीको प्रतीक्षामा रहेको लेनदेन (वाणिज्य) तथा बैंक तथा वित्तीय समस्या समाधानका लागि सर्वोच्च अदालतको मेलमिलाप परिषद्बाट अख्तियारी पत्र प्राप्त भएको १० महिना पछि उद्योग वाणिज्य सङ्घले मेलमिलाप केन्द्रको औपचारिक उद्घाटन गरी कार्यान्वयनमा ल्याउँदा व्यवसायीहरू खुसी भएका छन् ।

वाणिज्य तथा बैङ्किङ प्रकृतिका मुद्दा मेलमिलापको माध्यमबाट समाधान गर्न समिति गठन गरिएको भए पनि लामो समयसम्म केन्द्र सञ्चालनमा आउन नसक्नु दुःखद पक्ष भएको सङ्घका पूर्व वाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले आरोप लगाउँदै आएका थिए ।

सर्वोच्च अदालतको पत्र उद्योग वाणिज्य महासङ्घमार्फत सङ्घमा आएपछि सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीको नेतृत्वमा समिति गठन गरिएको थियो । उक्त समितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता तथा कार्यकारिणी सदस्य किसुननाथ बनिया र अनुराग अग्रवाल रहेका छन् ।

आवश्यक परे अन्य विज्ञ तथा जानकारलाई पनि समेट्न सकिने निर्णय गरिएको छ । वाणिज्य तथा बैङ्किङ क्षेत्रमा लेनदेन, मालवस्तु तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विवाद समाधान गर्न मेलमिलाप केन्द्र सहयोगी हुने समितिको भनाइ छ ।

वाणिज्य क्षेत्रका कतिपय समस्या समाधानका लागि प्रहरी, नगरपालिका, गाउँपालिका तथा अदालतसम्म पुग्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरिएको छ ।

मेलमिलाप परिषद् (मेडिएसन काउन्सिल) ले वाणिज्य तथा बैङ्किङ प्रकृतिका मुद्दा तथा विवादहरू मेलमिलाप प्रक्रियाबाट समाधान गर्न उद्योग वाणिज्य संघलाई अख्तियारी प्रदान गरेको थियो । परिषद्ले नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत जिल्ला तथा नगरका उद्योग वाणिज्य संघहरूमा मेलमिलाप केन्द्र स्थापना गरी यस्ता मुद्दा समाधान गर्न दुई महिना अघि नै अख्तियारी दिएको थियो ।

परिषद्ले २०८१ साल चैत १७ गते महासंघलाई पत्राचार गर्दै मेलमिलाप केन्द्र स्थापना गरी काम गर्न अनुरोध गरेको थियो । सोहीअनुसार महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई केन्द्र स्थापना गर्न पत्राचार गरेको थियो ।

उद्योगी–व्यवसायीबीच धेरैजसो कारोबार आपसी समझदारी तथा मौखिक रूपमा हुने भएकाले कागजी प्रमाणको अभावमा उत्पन्न समस्या समाधानका लागि मेलमिलाप केन्द्र प्रभावकारी हुने अपेक्षा गरिएको छ । मेलमिलाप केन्द्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै सङ्घका अध्यक्ष ओमप्रकाश अग्रहरीले अहिले धेरै प्रयासपछि केन्द्र सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले मेलमिलाप केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके उद्योगी–व्यवसायीलाई ठूलो राहत पुग्ने बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव भण्डारीले पनि मेलमिलाप केन्द्र सञ्चालनमा आउनु उद्योगी–व्यवसायीका लागि सुखद पक्ष भएको उल्लेख गरे ।