© 2026
बुटवल, १३ माघ ।
मुलुकमा जहानीया राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि विभिन्न ठाउँमा विद्यालयहरू खुल्न थाले ।
राणा शासन अन्त्य भएको अर्को वर्ष २००८ सालमा रुपन्देहीकै पहिलो विद्यालयको रूपमा बुटवल हाइ स्कुल स्थापना भयो । त्यसै समयमा गणेश जनता विद्या भवन (हालको कान्ति मावि) मा अध्ययन सुरु भयो । उता २००९ सालमा भैरहवा नमुना विद्यालय सञ्चालनमा आयो ।
बुटवल र भैरहवासँगै रुपन्देहीका अन्य ठाउँहरूमा पनि विद्यालय सञ्चालन हुन थाले । पाँच दशकअघि अर्थात् २०३० को आसपासमा रुपन्देहीमा केही सीमित विद्यालयहरू मात्र थिए । विद्यालयमा शिक्षक पाउन गाह्रो हुने गर्दथ्यो ।
२०१५ सालतिर इरादेवी थैव बुटवल हाइ स्कुलमा पढेकी थिइन् । ‘बुटवलमा नेपाली शिक्षक पढाउने पध्मनाथ गुरु हुनुहुन्थ्यो ।
अरू शिक्षकहरू भारतबाट ल्याइएका थिए’, थैव सम्झिन्छिन् । २०२० तिर तत्कालीन बुटवल नगर पञ्चायतले प्राथमिक शिक्षाको लागि ५ वटा पाठशाला सञ्चालन गरेको थियो । जसमा अहिलेको कालिका मावि, ज्ञानोदय मावि, तिलोत्तमा मावि, सरस्वती आधारभूत विद्यालय र उजिरसिंह मावि रहेका थिए । यी विद्यालयहरूलाई पाठशाला १, पाठशाला २… भनिन्थ्यो ।
इरादेवी थैव जब आइए पास भइन् । उनलाई नगर पञ्चायतले चलाएका विद्यालयहरूको व्यवस्थापन सम्हाल्न आग्रह गरियो । ‘बुटवलमा आइए पास हुनेमा म मात्र थिएँ । यहाँ हेडमास्टर चाहिएको रहेछ । म आइए पास भएको सुन्ने बित्तिकै उहाँहरूले मलाई विद्यालयको सेवा गर्न आग्रह गर्नुभयो’, उनले भनिन् ‘५ वटा विद्यालयहरूको हेड मास्टर भएर मैले काम गरेँ ।
पाँच छ वटा स्कुलको निरीक्षण गर्न पुग्नुपर्दथ्यो ।’ अहिलेको कालिका स्कुलमा पुग्दा बाटोमा कतै जङ्गल र खेतै खेत थिए । त्यस बेला अहिले जस्तो सवारी साधन र रिक्सा थिएन । ‘कार्यालय सहयोगीलाई लिएर कालिका स्कुल पुग्नुपर्दथ्यो ।
म हप्ताको एक पटक निरीक्षण गर्न जाने तालिका थियो’, थैवले भनिन् । स्कुलहरूमा केटाकेटीहरू घरबाट बोरा लगेर विच्छाएर बसी पढ्ने गरेको उनले सुनाइन् । इरादेवी थैव विद्यालयको प्रधानाध्यापक हुँदा त्यस बेला तलब २ सय रुपैयाँ र भत्ता ५० रुपैयाँ थियो ।
प्रधानाध्यापकको भूमिकामा हुँदा मुख्य गरेर उनको प्रशासनिक जिम्मेवारी मात्र थियो । तर शिक्षक नहुँदा कहिलेकाहीँ कक्षामा पुगेर पढाउँथिन् । एक पटक बुटवलमा जस्तै नगर पञ्चायतले स्थापना गरेका विद्यालयका हेडमास्टरहरूको सेमिनार पनि भएको थियो ।
सेमिनारमा इरादेवीले बुटवलको शिक्षाको अवस्था बारे प्रस्तुत गरेकी थिइन् । बुटवलको रिपोर्ट सेमिनारमा उत्कृष्ट मानिएको थियो ।
केही वर्ष पढाएर इरादेवीले प्रधानाध्यापकको जिम्मेवारीबाट विदा लिइन् ।
‘बुटवलका विद्यालय र शिक्षाको लागि आफूले केही गरेँ कि जस्तो लाग्छ । यहाँको शिक्षाको कुरा गर्दा आफ्नो नाम अगाडि आउँदा मलाई बढो खुशी लाग्छ’, उनले भनिन् ।
बुटवल नगर पञ्चायतले सञ्चालन गरेका विद्यालयहरूमा विमलबहादुर शाक्यले पनि पढाए । बुटवलका पूर्व उपमेयर समेत रहेका शाक्यले २०२३ सालमा शिक्षण पेसा सुरु गरेका थिए । नेपालगञ्ज रोडमा रहेको अहिलेको तिलोत्तमा मावि त्यस बेला पाठशाला नम्बर २ थियो ।
यही स्कुलबाट उनले पढाउन थालेका हुन् । नगर पञ्चायतले एक वर्ष पढाएपछि ५ वटा स्कुल मध्ये जता पनि सरुवा गर्न सक्थ्यो ।
‘पाठशाला नम्बर २ पछि ३ मा गएँ । त्यसपछि ४ र ५ मा पढाएँ’–शाक्यले भने– ‘५ वटा स्कुलमा करिब १२ सय, १३ सय जति विद्यार्थी हुन्थे । सबै स्कुलको एउटै प्रश्न पत्र हुन्थ्यो, बार्षिकोत्सव एकै पटक मनाइन्थ्यो ।’
२०२८ मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि नगर पञ्चायतले पाठशालाहरू सरकारलाई हस्तान्तरण गर्यो । पाठशाला नम्बर १ लाई कालिका निम्न माध्यमिक विद्यालय नामाकरण भयो । विमलबहादुर शाक्य कालिका माविको पहिलो कायम मुकायम प्रधानाध्यापक भए ।
बुटवलका विद्यालयमा अरू विषयका पढाउने शिक्षक भए पनि गणित र विज्ञान पढाउने शिक्षक भारतबाट समेत ल्याउनु परेको शाक्य सुनाउँछन् । तर केही समयपछि आइएससी र बीएस्सी उत्तीर्ण हुनेको संख्या बढ्दै गएपछि त्यो समस्या टरेको उनको भनाइ छ ।
विद्यालयहरूका संरचनाको कुरा गर्दा स–साना झुपडीमा थिए । विमलबहादुर शाक्यले शिक्षण पेसा सुरु गर्दा उनको तलब १२५ रुपैयाँ थियो । ‘२०३२ सलमा मणिग्रामको शान्ति नमुनामा शिक्षक भएर जाँदा त्यहाँ ६ सय रुपैयाँ पाउन थाले । मणिग्राममा १६ महिना शिक्षण गरेपछि फेरि कालिकामा अंग्रजी दरबन्दी सहित आएँ’– उनले भने ।
वि.सं. २०३० सालमा लुम्बिनी कलेजको नाममा हालको बुटवल बहुमुखी क्याम्पसको स्थापना भयो । विमलबहादुर शाक्य दिउँसो विद्यालयमा पढाएर अपरान्ह कलेज पढ्न जाने गर्दथे । ‘अहिलेको कान्ति स्कुलको पारी पट्टीको भवनमा कलेज सञ्चालन थियो ।
हामी १० बजेजेखि ४ बजेसम्म स्कुलमा पढाएर त्यसपछि कलेजमा आइए पढ्न जान्थ्यौं’, उनले भने–‘म सहित अरू शिक्षकहरू पनि त्यसरी पढ्न जाने गथ्र्यौ । आइए पास भएपछि बिए पढ्न भैरहवा जानुपर्यो । स्कुल छुट्टी भएपछि साँझको कक्षा लिन बस चढेर ५० पैसा भाडा तिरेर भैरहवाको सिद्धार्थ कलेज (हालको भैरहवा बहुमुखी क्याम्पस) जान्थ्यौं ।’
बुटवलबाट भैरहवा जाँदा बाटोमा अहिलेजस्तो घरहरू थिएनन् । कतै जङ्गल र कतै खेतहरू थिए । रूपन्देहीको तिलोत्तमा क्षेत्र पनि पूर्णरूपमा ग्रामीण क्षेत्र थियो । मणिग्राममा भने केही बस्ती र चहलपहल थियो । शान्ति नमुना स्कुल यस क्षेत्रको पुराना विद्यालय हो ।
कौशलराज बस्यालले यही विद्यालयमा २०२६ साल भदौ १५ गतेदेखि शिक्षण पेसा सुरु गरे । ७ वर्ष मणिग्राममै पढाए । बस्यालले पढाउँदा त्यस बेला पनि शान्ति नमुनालाई राम्रो विद्यालय मानिन्थ्यो । ‘साढे ६ सय ७ सय विद्यार्थी हुन्थे ।
शान्ति नमुनामा राम्रो पढाइ हुन्छ भनेर गुल्मीसम्मका विद्यार्थी आउँथे । यहाँ आफन्तकोमा बसेर पढ्थे । पहाडबाट आएकाले साँच्चिकै मेहनत गरेर पढ्थे ।’ उनले सम्झे, ‘यही पनि कोही साइकिल र कोही हिंड्दै पर पर सम्मका गाउँबाट आउँथे ।’
पाल्पाका कौशलराज मणिग्राममा पढाउने सिलसिलामा डेरामा नभई विद्यार्थी तथा अभिभावककै घरमा बस्ने खाने गर्दथे । ‘त्यस बेला अभिभावकहरूले हाम्रो घरमा बस्नुहोस्, केटाकेटी पढाइदिनुहोस् भन्थे ।
बाहिरबाट आएका म लगायत अरू शिक्षक त्यसरी नै केटाकेटी पढाएर बस्ने खाने गथ्र्यौं’, उनले भने– ‘छुट्टै कोठा भन्ने हुँदैन थियो । घरको आँटीमा अरू बच्चाहरू सुत्थे एउटा छेउमा रहेको खटियामा म सुत्थेँ ।’ आफू त्यसरी तीन चार जना अभिभावकको घरमा बसेको बस्यालले सुनाए । कसैले घर बेचेर गएमा अर्को अभिभावकले बस्न र बच्चाहरू पढाउन बोलाउने गर्थे ।
मणिग्राममा शिक्षण पेसा सुरु गर्दा सुरुमा बस्यालको तलब २ सय रुपैयाँ थियो । ‘स्थानीय श्रोतबाट हामीले तलब खानुपरेको थियो । केही विद्यार्थीहरूसँग शुल्क उठाइन्थ्यो । नसक्ने विद्यार्थीलाई शुल्क तिर्ने बाध्यता थिएन । शान्ति स्कुलको जग्गा त प्रशस्त थियो ।
एक विघा कमाइ गरेर वर्षको २५० रुपैयाँ मात्र स्कुललाई दिन्थे’, उनले भने, ‘स्कुलबाट जग्गाको पैसा उठेपछि असारमा पुरै तलब दिउँला भनिन्थ्यो । घर जान वा अति आवश्यक परेको बेला पचास, सय रुपैयाँ पाइन्थ्यो । पूरा तलब त एकै पटक असारमा आउँथ्यो ।’
त्यस बेला पहाडी जिल्लामा शिक्षकको अभाव हुने गरेको बस्याल सम्झन्छन् । ‘बजारमा शिक्षक अभाव थिएन । तर पहाडी जिल्लाको स्कुलको लागि शिक्षक खोज्न यहाँ आउने गर्दथे । अङ्ग्रेजी, गणित, विज्ञान जस्ता विषयमा शिक्षक भएन भनेर यहाँ खोज्न आउँथे । कोही शिक्षक खोज्दै गोरखपुरसम्म पुग्थे’– उनले भने ।
शान्ति नमुनाबाट २०३३ सालमा कौशलराज बस्याल बुटवलको कालिका माविमा हेड मास्टर भएर आए । ‘कालिका जाँदा भौतिक साधन, खानेपानी, शौचालय, डेस्क बेन्चहरू कम थिए । सिमलका रुख काटेर विद्यार्थीलाई बोक्न लगाएर डेस्क बेन्च बनाइयो’, उनले भने, ‘छात्राहरूलाई शौचालयको लागि अरूको घर जानुपर्थ्यो । २ वटा शौचालय बनाइयो ।
खानेपानीको व्यवस्था गरियो । शैक्षिक सुधार गर्दै गइयो । अहिले देशकै राम्रो विद्यालय बनेको छ ।’ २०६४ सालमा बस्यालले कालिकाबाटै शिक्षण पेसादेखि अवकाश लिएका थिए ।
उता भैरहवा क्षेत्रमा दशक अघिसम्म पनि फाट्टफुट्ट विद्यालयहरू थिए । बलराम शर्माले २०२९ सालमा स्थायी नियुक्ति भई भैरहवाको तत्कालीन सुसंस्कृत निमावि (हालको मावि) मा शिक्षण पेसा थालेका थिए ।
त्यसअघि इन्द्र राज्य लक्ष्मी मावि (हालको लिलाराम न्यौपाने मावि) मा अस्थायी रूपमा पढाएका थिए । ‘इन्द्रराज्यमा पढाउँदा निश्चित तलबमान थिएन, विद्यालयमा दरबन्दीको व्यवस्था पनि हुँदैन थियो । पाठ्य पुस्तकमा पनि एकरूपता थिएन’– शर्माले भने ।
२०२९ सालमा रुपन्देहीमा राष्ट्रिय शिक्षा पद्धति लागु भयो । जसलाई त्यस बेला बोलिचालीमा नयाँ शिक्षा भनिन्थ्यो । नयाँ शिक्ष लागू भएपछि शिक्षा प्रणाली व्यवस्थित हुन थाल्यो । राष्ट्रिय शिक्षा पद्धति कार्यान्वयनमा आएपछि बलराम शर्मा निमाविमा स्थायी नियुक्ति लिइ २०२९ साल पुस ५ गते सुसंस्कृत निमाविमा प्रधानाध्यापक भएर गए । ‘स्थायी भएपछि सुरुको तलब २५० रुपैयाँ थियो ।
२५ रुपैयाँ प्रअ भत्ता हुन्थ्यो । स्थायी हुनु अगाडि इन्द्रराज्यमा पढाउँदा डेढ सयको हाराहारीमा तलब पाउँथे । त्यस बेला निश्चित तलब हुँदैन थियो । विद्यार्थीबाट उठेको शुल्कको आधारमा दामासाही हिसाबले शिक्षकको तलब तोकिन्थ्यो । स्याङ्जा पुतलीबजारका शर्मा बनारस पढेर आएर भैरहवामा शिक्षण पेसा थालेका हुन् । २०६९ सालमा उनी अवकाश भएका हुन् ।
बलरामले शिक्षण पेसा सुरु गर्दा भैरहवा क्षेत्रमा भैरहवा नमुना मावि. पक्लिहवा मावि र इन्द्र राज्य लक्ष्मी मावि गरी ३ वटा मात्र हाइ स्कुल थिए । रूपन्देही जिल्लाभर ९ वटा जति मात्र मावि तहका विद्यालय रहेको उनले सुनाए ।
आसपासका गाउँ गाउँबाट कोही साइकिलमा कोही हिँडेर विद्यार्थीहरू भैरहवाका स्कुलमा पढ्न आउने गर्दथे । शर्माले सुरुमा अस्थायी रूपमा लिलाराम उच्च माविमा पढाउँदा विद्यालयमा सात आठ सय विद्यार्थी थिए । १० कक्षामा ८० देखि सय जना विद्यार्थी भएको उनले बताए ।
पाँच दशकको बिचमा शिक्षा क्षेत्रमा धेरै विकास र सुधार भएको छ । रुपन्देहीका गाउँगाउँसम्म थुप्र सामुदायिक र निजी विद्यालय सञ्चालनमा छन् । विद्यालयमा भौतिक पूर्वाधारको विकास र यातायातमा सहजता छ । तर शिक्षाको गुणस्तरमा सुधार हुनुपर्ने र पढेका विद्यार्थी नेपालमै रहने वातावरण बन्नुपर्ने त्यस बेलाका शिक्षकहरू बताउँछन् ।